नेकपा एमाले परित्याग गरेका वामपन्थी नेता घनश्याम भुसालले रुपन्देही–१ बाट सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेबाट टिकट नपाएपछि उनले शनिबार पार्टी परित्याग गरेको घोषणा गरेका थिए । त्यसकाे भाेलिपल्ट सत्ता गठबन्धनकाे तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएका छन् ।
शिलापत्रसँग कुरा गर्दै भुसालले एमाले अध्यक्ष केपी ओलीसँग आफू मात्र नभएर अन्य मुख्य पदमा रहेर बसेका नेतासमेत असन्तुष्ट रहेको बताएका छन् । ओलीकै कारण एमाले कमजाेर भएको र पछिल्लो समय कार्यकर्ताको विश्वास गुम्दै गएको उनको आरोप छ । स्वतन्त्र उम्मेदवारी दिएपछि नेता भुसालसँग शिलापत्रका लागि रमेश भारतीले गरेकाे संवादकाे सम्पादित अंशः
तपाईं एमाले छाेडेर दाेस्राेपटक उम्मेदवार बन्दै हुनुहुन्छ । एमाले नछाेडी उम्मेदवार हुने सम्भावना थिएन
एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई आफ्नो व्यक्तिगत सम्पत्तिजस्तो गर्नुभयाे । उहाँले एमालेको सिद्धान्तविपरीत पार्टीमा मनपरी गरिरहनुभएकाे छ । उहाँसँग विचार नमिल्ने र पार्टी यसरी चलाउनुपर्छ भनेर सुझाव दिने अन्य नेतामाथि अकल्पनीय व्यवहार देखाउन थाल्नुभएकाे छ । एमालेभित्रको मुख्य समस्या यही हो । म र मेरो सिद्धान्तमाथि अपमान गर्नुभयाे । त्यही भएर पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेको हुँ ।
पार्टी छाडेपछि एमालेप्रति के टिप्पणी रहेकाे छ ?
एमाले जत्तिकाे वामपन्थी दलको राजनीतिक संगठन अन्य पार्टीमा छैन । तर, यो पार्टीमा व्यक्ति हाबी हुँदा एमालेको अवस्था बिग्रिन थालेको हो । यति मात्र होइन, एमालेभित्र मुख्य पदमा रहेर काम गरेकै नेताहरू नै अध्यक्षको व्यवहारप्रति असन्तुष्ट छन् । उनीहरू बाध्यताले चुपचाप बसेका हुन् । उनीहरू पनि अहिले ओलीमाथि प्रश्न उठाउन सक्ने अवस्थामा छैनन् । एमालेमा संगठन पनि बलियो छ । यो पार्टी अहिले ओलीको कब्जामा छ । त्यहाँ कोही बोल्न सकिरहेका छैनन् ।
तपाईंसँग ओली असन्तुष्ट हुनुको मुख्य कारण के हाे ?
ओलीसँग मेरो सिद्धान्त नै मिलेन । उहाँसँग कुनै सिद्धान्त पनि छैन । संगठनात्मक सिद्धान्तको विकास र देशको भूराजनीतिजस्ता विषयमा पनि सिद्धान्त फरक भयो । उहाँले मेरो सिद्धान्तलाई व्यक्तिगत रूपमा लिनुभयो । समस्या यही हो । पार्टीलाई विधि, नीति र सिद्धान्त, पद्धति र कार्यकर्ताको मनसाय बुझेर चलाउनुपर्छ भन्ने मेरो सिद्धान्त ओलीलाई पचेन । उहाँ पार्टीभित्र यस्तो प्रवृत्ति पटक्कै नरुचाउने व्यक्ति हो । हामीबीचको मुख्य मतभेद भनेकै सिद्धान्त हो ।
टिकटका लागि पार्टी छाड्नुभएको त होइन ?
यो प्रश्नमै म असहमत छु । टिकटका लागि एमाले छाड्ने भए पहिला नै अलग हुन्थेँ । अध्यक्ष केपी ओली अराजनीतिक असैद्धान्तिक भएपछि मात्र एमाले छाडेको हुँ । मेरो इतिहास हेर्नुहोस्, अहिलेसम्म पदका लागि मरिहत्ते गरेको छैन । एमाले आगामी दिनमा समेत पद्धतिअनुसार चल्ने कुनै सम्भावना नदेखेर छाडेको हुँ । अध्यक्ष ओलीले मेरो मात्र होइन, मेरो सिद्धान्तको पनि अपमान गरे । मैले पार्टीलाई विधि, नीति, सिद्धान्त र पद्धतिअनुसार चलाउनुपर्छ भनेर संघर्ष गरेँ तर, उहाँले यसलाई विरोधका रूपमा हेर्नुभयो ।
ओलीसँगकाे रिसले मात्रै पार्टी छाेडेकाे जस्ताे देखियाे नि ?
तपाईं नै भन्नुहोस्, ओलीले के चाहिँ राम्रो काम गर्नुभएकाे छ ? सरकारको नेतृत्व गर्दा र एमालेको अध्यक्ष हुँदा उहाँले वामएकता भत्काउन संसद् विघटन गर्नुभयाे । पार्टीमा एकलाैटी चल्नुभयाे । कसैको केही कुरा नसुन्ने । आफनो मान्छे मात्र च्याप्ने । पार्टीभन्दा माथि भएर शासन चलाउन खोज्ने र कार्यकर्ताको वास्ता छैन । यति मात्र होइन, एमाले अध्यक्ष ओलीले एमालेलाई गतिमा दौडाउन कति राम्रो काम गर्नुभयाे त, औँला भाँचेर गन्नुहोस् त । अनि सबै थाहा पाउनुहुन्छ । हिजो कस्तो एमाले थियाे अहिले कस्तो बनाउनुभयाे त ओलीले सबैले देख्नुभएको छ । यो सबै एमालेका कार्यकर्तालाई पनि थाहा छ ।
एमाले छोडेर सत्ता गठबन्धनसम्मचाहिँ कसरी पुग्नुभयो ?
सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले मेरो क्षेत्रमा उम्मेदवारी दिन प्रस्ताव गर्नुभयो । सोहीअनुसार उम्मेदवारी दिएको हुँ । यो क्षेत्र माओवादीको कोटामा परेको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेपछि आफू उम्मेदवार हुन तयार भएको हो । मैले उहाँहरूको पार्टीको चुनाव चिह्न लिन्नँ भनेको थिएँ, त्यसमा उहाँ सहमत हुनुभयो ।
गठबन्धनकाे सहयोगमा स्वतन्त्र उम्मेदवारी दिनुभयाे । कार्यकर्तालाई कसरी मनाउनुहुन्छ ?
एमाले पार्टी सञ्चालन शैलीको लामो समयदेखि आलोचना र विरोध गर्दै आएको थिएँ । यो त सबै कार्यकर्तालाई थाहा छ । मैले पार्टी छाेड्दा कतिपय एमालेका कार्यकर्ता पनि खुसी छन् । त्यही भएर म रुपन्देही–१ बाट उम्मेदवार उठेको छु । यो क्षेत्रका एमालेले मात्र होइन, अन्य पार्टीले पनि मलाई स्वीकार्छन् भने आस छ ।
अबकाे राजनीतिक यात्रा कता भन्ने गम्भीर प्रश्न उठेकाे छ नि ?
लोकतन्त्रका लागि लडेको व्यक्ति हुँ । वामएकताका लागि प्रयास गर्नेछु । वाम आन्दोलनको एकता सुदृढीकरणका लागि अबका दिनमा छलफलमा लाग्नेछु । अहिले पनि यही कुरामा सक्रियताका साथ काम गर्दैछु र आगामी दिनमा पनि यो प्रयास जारी रहनेछ । वामएकताको विषय उठाउँदा मलाई एमाले अध्यक्ष ओली नै अपमान गरे । तर, उनी अहिले जुन उचाइमा छन्, यो वाम गठबन्धनकै कारण हो । उनले यो विषयमा सोचेका छैनन् । त्यही भएर पार्टीमा मात्र होइन, उनी राजनीतिबाटै एक्लिँदैछन् । नेपालको लोकतान्त्रिक स्थिरताका लागि वामएकता आवश्यक छ । कम्युनिस्टहरू लोकतन्त्रको रक्षाका लागि भए पनि एक ठाउँमा उभिनुपर्छ भनेर म लागेकाे छु । म पनि अहिले वामएकताको पक्षमा छु ।