जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार बिहान ९ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका यादवले एक सातापछि प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रदेश प्रमुखबाट मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै यादवले अब प्रदेशसभाबाट विश्वासको मत लिने प्रक्रिया अघि बढाउने बताए । उनले एक साताभित्रै विश्वासको मत लिने तयारी रहेको जानकारी दिएका छन् । मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त गरेका हुन् ।

सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा (२) अनुसार दिइएको समयसीमाभित्र कुनै पनि दलले बहुमत जुटाएर सरकार गठनको दाबी पेस गर्न नसकेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।
यसअघि गत २८ कात्तिकमा नेपाली कांग्रेसका संसदीय दलका नेता एवं तत्कालीन मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिएका थिए । विश्वासको मत प्राप्त गर्ने सम्भावना नदेखिएपछि उनले पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुखले ४ मंसिर अपराह्न ४ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।
उक्त समयसीमाभित्र कुनै पनि दलले दाबी पेस गर्न नसकेपछि संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।
मुख्यमन्त्री यादवको नियुक्तिसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । संवैधानिक व्यवस्थाअनुसार उनले मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।
मुख्यमन्त्रीसँगै अन्य मन्त्रीहरूले पनि शपथ लिने वा नलिने विषयमा भने टुंगो लागेको छैन । जसपा नेपालका प्रदेशसभा सदस्य मनिष सुमनका अनुसार सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा छलफल भइरहेको छ । निर्णय भएपछि मात्रै मन्त्रीहरूको नाम सार्वजनिक गरिने उनले बताए।





