जनकपुरधाम । नेपालस्थित चीनको दूतावासले जनकपुरधामस्थित एक कन्या विद्यालयलाई शैक्षिक तथा भौतिक सामग्री सहयोग गरेको छ ।
दूतावासको‘उज्यालो भविष्य परियोजना’ अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका–११ स्थित सकल भवन कन्या माध्यमिक विद्यालयलाई विभिन्न सामग्री सहयोग गरिएको हो । दूतावासका युवा अग्रदूतहरूको सह आयोजनामा सोमबार विद्यायमा आयोजित कार्यक्रममा मधेशी आयोगका पूर्वअध्यक्ष डा. विजयकुमार दत्त र चिनियाँ दूतावासका राजनीतिक तथा प्रेस विभागका निर्देशक यु पेङचेङले संयुक्त रूपमा विद्यालयलाई सामग्री हस्तान्तरण गरेका थिए ।

विद्यालयका आठ वटा कक्षाकोठाका लागि १४० सेट डेस्क–बेन्च, एक थान वासिङ मेसिन, ७०० थान विद्यालय झोला, कापी, कलमलगायतका सामग्री प्रदान गरिएको छ । त्यस्तै, आगामी वर्षदेखि विद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने योजना रहेको कार्यक्रममा जानकारी दिइएको थियो। यसले आर्थिक अभावका कारण शिक्षामा निरन्तरता दिन कठिनाइ भोगिरहेका छात्राहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सहयोगले विद्यालयको भौतिक पूर्वाधार सुधार गर्नुका साथै छात्राहरूको पठनपाठनलाई सहज बनाउने विद्यालयकी प्रधानध्यापक उसा यादवले बताईन् । कार्यक्रममा अधिवक्ता राजकुमार महासेठ,स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा, शिक्षाप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो ।परियोजना व्यवस्थापक इन्जिनियर शिवाङ दत्त, सन्ध्या बज्राचार्य र जिवेश गुरुङ पनि कार्यक्रममा उपस्थित थिए ।
शिक्षा र बालबालिकाको भविष्यलाई केन्द्रमा राखेर सञ्चालन गरिएको यस परियोजनाले विद्यालयको शैक्षिक विकासमा योगदान पु¥याउनुका साथै नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध र जनस्तरको सहकार्यलाई थप मजबुत बनाउने मधेश आयोगमा पुर्व अध्यक्ष दत्ताले बताए ।





