काठमाडौं । अभिनेत्री प्रियंका चोपडाले बेलायती पत्रिका भगका लागि छोरी मालतीसँग फोटोसुट गराएकी छिन् । यसै क्रममा उनले म्यागजिनलाई दिएको अन्तर्वार्तामा व्यक्तिगत जीवनको बारेमा कुरा गरेकी छन् । सरोगेसी विधिमार्फत बच्चा जन्माउने कुरालाई निशाना बनाउँदा आफूलाई दुःख हुने गरेको समेत उनले बताएकी छन् ।मेडिकल समस्याका कारण बच्चा जन्माउन नसकेकाले आमा बन्न सरोगेसीको सहारा लिएको उनले बताइन् । सरोगेसीमार्फत सन्तान जन्माउनुको कारण बताउँदै प्रियंका चोपडाले भनिन्, ‘मलाई मेडिकल जटिलता छ, मेरो लागि यो आवश्यक थियो कि यदि मेरो बच्चा छ भने सरोगेसी मार्फत गराउनुपर्छ । तर, जसरी भएपनि आमा बन्ने मौका पाएकोमा म भाग्यमानी छु ।
प्रियंकाकी छोरी डाक्टरले दिएको मितिभन्दा १२ हप्ता अगाडि जन्मिएकी हुन् । रिपोर्टका अनुसार बच्चाको जन्म मिति अप्रिलमा दिइएको थियो तर जन्म जनवरीमा भएको थियो । प्रि-म्याच्योर डेलिभरीको कारण छोरी पनि अलि कमजोर थिइन् । त्यसैले निक–प्रियंकाले छोरी पूर्णतया स्वस्थ नभएसम्म अस्पतालमै रहने निर्णय गरेका थिए ।प्रियंका र हलिउड गायक निक जोनसले डिसेम्बर २, २०१८ मा उदयपुरको उम्मेद भवनमा हिन्दू र इसाई परम्परा अनुसार विवाह गरेका थिए । निक र प्रियंकाको उमेरमा ठूलो अन्तर छ । प्रियंका निकभन्दा १० वर्ष जेठी छिन् ।
प्रियंकाको आगामी प्रोजेक्टको बारेमा कुरा गर्दा उनी छिट्टै रोमान्स ड्रामा ‘लभ अगेन’मा देखिनेछिन् । यसबाहेक उनी वेब सिरिज सिटाडेलमा पनि देखिनेछिन् । प्रियंकाको बलिउड प्रोजेक्टको बारेमा कुरा गर्दा, उनी फरहान अख्तरको निर्देशनमा बन्ने फिल्म ‘जी ले जरा’मा पनि देखिनेछिन्।यस फिल्ममा प्रियंकाले पहिलो पटक कट्रिना क्याफ र आलिया भट्टसँग स्क्रिन सेयर गर्नेछिन् ।