काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले आफूले क्यानडाको नागरिकता त्यागेको बताएका छन् । भारतीय नागरिकता पुनः प्राप्तिका लागि आवेदन दिइसकेको समेत उनले खुलासा गरेका छन् ।फिल्म ‘सेल्फी’को प्रमोसनका क्रममा दिएको एक अन्तर्वार्तामा अक्षयले आफ्नो नागरिकताको बारेमा कुरा गरेका थिए । आफ्नो लागि भारत नै सबथोक भएको भन्दै उनले राहदानी परिवर्तनका लागि आवेदन गरिसकेको बताएका छन् । साथै, क्यानडेली नागरिकताबारे यथार्थ नबुझिकन मानिसले जेसुकै भन्दा आफूलाई चित्त दुख्ने पनि उनले बताए ।
अक्षय भन्छन्, ‘मेरो दुई फिल्म मात्र रिलिज हुन बाँकी थिए र दुवै सुपरहिट हुनु भाग्यको कुरा हो । मेरो साथीले भन्यो फर्केर जाऊ, काम सुरु गर । मैले केही फिल्म पाएँ र थप काम पाइरहेको छु । मसँग राहदानी छ भनेर मैले बिर्सें । मैले यो राहदानी बदल्नुपर्छ भनेर कहिल्यै सोचेको थिइनँ । तर अब हो, मैले मेरो राहदानी बदल्न आवेदन दिएको छु ।’अक्षय आफ्नो क्यानेडियन नागरिकताका कारण सधैं विरोधको निशानामा रहन्छन् । उनको क्यानेडियन नागरिकता बहसको विषय भएको छ ।
अक्षयले तीन वर्षअघि आफ्ना फ्यानलाई भारतीय राहदानीका लागि छिट्टै आवेदन दिने वाचा गरेका थिए ।अक्षय शुक्रबारदेखि रिलिज भएको फिल्म सेल्फीमा देखिंदैछन् । यसमा उनको साथमा इमरान हासमी र नुसरत भरुचा पनि छन् । यो फिल्म मलयालम फिल्म ‘ड्राइभिङ लाइसेन्स’ को हिन्दी रिमेक हो । यसपछि अक्षय कुमार टाइगर श्राफको अपोजिट ठूलो ‘मियाँ छोटे मियाँ’ मा देखिनेछन् । यसबाहेक उनीसँग ‘ओ माइ गड २’, ‘फिर हेराफेरी २’ जस्ता फिल्म पनि छन् ।