
जनकपुरधाम । मिथिलाञ्चलका धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज बुधवार फुलबारी लिला मनाईएको छ ।
जानकी मन्दिरको छेउमा रहेको विवाह मण्डपकोमा रहेको फुलवारीमा भागवार राम र सीताको स्वरुप बनाई बालबालिकाहरुलाई उक्त फुलवारीमा घुमाउने चलन रहेको छ । रामायणमा फुलवारीमै रामसीता बीचको पहिलो भेट भएको उल्लेख छ । फुलवारीमै राम र सीता एक अर्काप्रति आकिर्षत भएको र जानकीले आफूलाई राम जस्तै बर पाउन कामना गरेको भन्ने मान्यता रहेको छ ।
यस अघि मंगलवार नगरदर्शन कार्यक्रम सम्पन्न भएको थियो । तेत्रयुगमै भारत अयोध्याका दशरथका छोरा पुरुषोत्म राम र राजा जनककी छोरी सीता बीच वैवाहिक सम्बन्धमा बाधिएको सम्झनामा प्रत्येक वर्ष मंसिर शुल्क पञ्चमीमा जनकपुरधामामा विवाहपञ्चमी महोत्सव मनाईन्छ । महोत्सवलाई नेपाल–भारत बीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रुपमा पनि लिइन्छ ।
महोत्सवको तेस्रो दिन बिहीबार धनुष यज्ञ, चौथो दिन शुक्रबार तीलकोत्सव, पाँचौ दिन शनिवार मटकोर र १ पुसमा विवाह पञ्चमीको आकर्षण मानिएको दिउँसो रामसीता स्वयंवर तथा राती विवाह कार्यक्रम हुनेछ । त्यसैगरि, २ पुसमा अर्थात महोत्सवको अन्तिम दिन अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तहरुलाई सामुहिक रुपमा भोजन गराई विदाई गर्ने कार्यक्रम रहेको छ । त्यसलाई रामकलेवा भनिन्छ । रामकलेवा पश्चात महोत्सव विधिवत रुपमा सम्पन्न हुने गरेको छ ।