
जनकपुरधाम । सत्य र असत्य बीच लडाई तथा इस्लाम धर्मको संरक्षणका लागि ज्यानको आहुती दिने इमामे हसन र इमामे हुसेनको सम्झनामा मनाईने मोहरम पर्वको यस वर्षपनि मधेशका जिल्लाहरुमा मनाईदै छ ।
यसैबिच जनकपुरधाममा पनि आज विभिन्न स्थानमा दाहा मेलाको आयोजना गरिएको छ । जनकपुरधाम उपमहागरपालिका रुपैठा, बसहिया, महोत्तरीको महोत्तरी गाउँपालिकाको महोत्तरी लगायतका ,स्थानमा ठुला दहा(तजिया) मेलाको आयोजना गरिएको छ ।
जनकपुरधामको बारह विघामा प्रत्येक साल लाग्ने दाहा मेला यस वर्ष तिरहुतिया गाछीमा सारिएको छ । बारविघामा वर्षाको पानी जमेकोले सर्वपक्षिय निर्णयले तिरहुतिया गाछीमा सारिएको धनुषाको प्रमुख जिल्ला रामुराज कडरीयाले बताए ।
बारह विघामा दाहा मेला आयोजना गर्न प्रतिबन्ध लगाएको भनेर हल्ला फैलिएपछि प्रमुख जिल्ला अधिकारी कडरीयाले भने,‘ बारह विघामा दाहाल मेला लगाउन कुनै प्रतिबन्ध गरिएको होईन । वर्तमान संविधान अनुसार कसैले कसैलाई प्रतिबन्ध लगाउन पनि सक्दैनन् ।बारह विघामा पानी जमेको र त्यहाँ मेला लगाउने अवस्था नरहेकोले सर्वपक्षिय बैठकले तत्काल तिरहुतिया गाछीमा मेला लगाउने निर्णय भएको हो ।’
यस विषयमा जनकपुरधामका मेयर मनोज कुमार साहसँग कुरा गर्न खोज्दा उहाँको मोबाईल अफ स्वीच अफ थियो ।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले पनि वारह विघामा दाहा मेला लगाउन प्रतिबन्ध नलगाइएको बताए । उनले बारह विघामा हिलो भएकोले तिरहुतिया गाछीमा मेला लगाउने सर्वपक्षि सहमति भएको बताए ।
वाहिर सञ्चार माध्यममा आएको खबर निरधार रहेको मंगलवार जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले बताए ।
किन मनाईन्छ दाहा मेला ?
मइस्लामिक क्यालेण्डर अनुसार अहिले मोहरम महिना चलिरहेको छ । मोहरम इस्लामिक क्यालेण्डरको पहिलो महिना हो । मोहरम महिना इस्लामिक क्यालेडर अनुसार नयाँ वर्षको पहिलो महिना पनि हो । यो महिनामा नै इस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मद पैगम्बर (स.)का नाति हजरत हसन र हुसैनले इस्लाम धर्मको संरक्षणका लागि आफ्ना ज्यानका आहुती (बलिदानी)दिएका थिए ।
हजरत हसन र हुसैनले यहुदीहरुबाट धर्म संरक्षणको लडाईमा शहिद भएका कारण उनिहरुकै सम्झनामा मुस्लिम समुदायले मोहरममा महिनामा तजिया बनाएर गम अर्थात दुःख मनाउने गर्छन । तर इस्लामिक धर्मगुरुले तजिया नबनाएर पनि उहाँहरुकोको सम्झीन सक्ने बताउँछन् ।
खेलतमसा वा दाहा नै बनाए हसन हुसेनलाई सम्झनु गलत रहेको भन्दै इस्लामिक धर्मगुरु अहमद हुसेनले भने,‘ खेलतमसा उचित होईन । इस्लामले मोहरमा खेलतमसाको अनुमति दिदैन् । बरु यो महिनामा बढी भन्दा बढी धार्मिक तथा पुण्यको काम जस्तै रोजा बस्ने, फातिहा गर्ने, मिलाद सहितको आयोजना गर्दा झन राम्रो मानिन्छ ।’
हजरत ईमामे हुसेनले सत्यको लागि आफ्नो ज्यानको आहुति दिएपनि धर्मको रक्षा गरेको र इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मद (स.) ले देखाएको बाटोलाई आत्मसाथ गरेकोले संसारभरिका मुस्लिम सामुदायले उहाँको सम्झनामा धार्मिक क्रियाकलाप गर्दै आएको उनले बताए ।