
जनकपुरधाम,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको नेतृत्वमा नेपाल सरकारले मधेश प्रदेशको महोत्तरी जिल्लामा व्यवसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।
बलवा नगरपालिका–६, बलवा क्षेत्रमा नयाँ व्यवसायिक प्रशिक्षण केन्द्र निर्माण गर्ने निर्णयले स्थानीय युवाहरू र श्रमिकहरूको जीवनस्तर उकास्ने र उनीहरूलाई रोजगारीका अवसरहरू सिर्जना गर्ने दिशामा महत्वपूर्ण कदम उठाएको छ ।
सरकारले दीर्घकालीन योजनाअनुसार व्यवसायिक तालिमलाई प्रभावकारी बनाउनका लागि नीतिगत सुधारहरू ल्याउने तयारी गरेको छ । बलवा नगरपालिकामा अत्याधुनिक सुविधासम्पन्न व्यवसायिक प्रशिक्षण केन्द्र निर्माण भएपछि यहाँका युवा र श्रमिकहरूको सीपको स्तरमा वृद्धि हुने उनीहरूले आफूलाई आत्मनिर्भर बनाउने अवसर पाउनेछन् ।
मन्त्री भण्डारीले थपे, ‘हामीले अब व्यवसायिक तालिमको नयाँ ढाँचा अपनाएका छौँ जसले मधेश प्रदेशका युवाहरूलाई देश र विदेशका बजारमा रोजगारीको अवसर प्राप्त गराउने लक्ष्य राखेको छ ।’
नेपाल सरकारले रोजगारदाता संस्थाहरू र निजी क्षेत्रसँग सहकार्य गर्दै तालिम प्राप्त व्यक्तिहरूको रोजगारीका लागि विभिन्न पहलहरू गर्दै आएको छ । यस नयाँ पहलले मधेश प्रदेशमा रहेका लाखौँ युवाहरूको रोजगारी संकटलाई समाधान गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।