जनकपुरधाम । नमुना संसद अभ्यास कार्यक्रममा सहभागीहरुले शुन्य समयमा सरकारको कमजोरीको चर्को आलोचना गरेका छन् ।

मधेश प्रदेशसभा सचिवालयको आयोजनामा र हेल्पिङ्ग ह्याण्डस् नेपाल, गौशाला महोत्तरीको सहकार्यमा शुक्रवार सम्पन्न ‘नमुना संसद’ अभ्यासमा सहभागी युवाहरूले शून्य समयमा सरकारका कमजोरीहरूलाई कडा रूपमा उठाएका छन्।
प्रतिपक्षी दलका तर्फबाट नमुना संसदीय दलका नेता राजन दासले भने, “तराई–मधेशका जिल्लामा खानेपानीको हाहाकार छ, अषाढको दोस्रो साता भइसक्दा पनि खेतमा पानी नहुँदा बाँझो परेको छ, तर सरकार कमिसनको खेलमै अल्झिएको छ।” उनले सरकारलाई सोधे, “के भाषण र नाराले मात्र प्रदेश चल्छ? मुख्यमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्छ।”
सांसद पंकज महराले चूरे क्षेत्रको दोहन, अवैध उत्खनन र त्यसबाट सिर्जित बाढीको समस्याबारे प्रश्न उठाउँदै सरकारको मौनताप्रति चिन्ता व्यक्त गरे। सांसद खुश्वु झाले हत्या, बलात्कार, अपहरणजस्ता घटनामा नियन्त्रण हुन नसकेको भन्दै प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाइन्।
अर्का सांसदहरूले छुवाछूत, छाउप्रथा, बोक्सी प्रथालगायत सामाजिक कुरीतिहरूको बारेमा सरकार गम्भीर नदेखिएको आरोप लगाए। सत्तापक्षका कतिपय सांसदहरूले पनि साइबर क्राइम, चोरी–डकैती, लुटपाटलगायत अपराध रोक्न नसकिएको स्वीकार गरे। युवाहरूका लागि लक्षित कार्यक्रम ल्याउन नसकेको विषयमा पनि सदनमा सरकारप्रति असन्तुष्टि देखियो।
शून्य समय, विशेष समय, मन्त्रीसँग प्रश्नोत्तर तथा मुख्यमन्त्रीसँग प्रश्नोत्तरको चरणमा मन्त्रीहरूले जवाफ दिएका थिए। नमुना युवा मुख्यमन्त्री सोनु कुमार साहले चूरे दोहनको विषयमा सरकार गम्भीर रहेको बताउँदै भने, “चूरे हाम्रो मुटु हो, तर संघीय सरकारले त्यही मुटुमाथि सडक र विद्युतीकरणको नाममा आक्रमण गरिरहेको छ। मधेश मरुभूमिकरणको खतरामा छ।” उनले सबै दल मिलेर प्रधानमन्त्रीसमक्ष चूरे संरक्षणका लागि डेलीगेशन लैजाने प्रस्ताव गरे।
सांसदहरूद्वारा उठाइएका हत्या–हिंसाका सवालमा जवाफ दिँदै मुख्यमन्त्रीले प्रहरी प्रशासन संघीय सरकारको मातहतमा रहेकोले प्रदेश सरकार सीमित रहेको बताए। साथै, प्राकृतिक विपत्तिका बेला तत्काल उद्धार र राहत उपलब्ध गराएको दाबी गरे।
नमुना संसद अभ्यासमा विधेयक दर्ता, छलफल, संशोधन र पारित गर्ने प्रक्रियासमेत अभ्यास गरिएको थियो। बुधवारदेखि सुरु भएको अभ्यासको प्रारम्भिक दुई दिन सैद्धान्तिक प्रशिक्षण दिइएको थियो भने बिहीवार र शुक्रवार नीति तथा कार्यक्रम पारित गर्दै संसद बैठकको अभ्यास गरिएको थियो।
मुख्यमन्त्री, सभामुख, गृहमन्त्री र अन्य मन्त्रीहरू युवाहरूबाटै निर्वाचन प्रक्रियामार्फत चयन गरिएका थिए। सभामुखमा सुनिल यादव, उपसभामुखमा खुशी झा, अर्थमन्त्रीमा सुजाता मण्डल, भौतिक पूर्वाधार मन्त्रीमा अमन साह, समाज कल्याण मन्त्रीमा शिव कर्णलाई सपथ ग्रहण गराइएको थियो।
मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका ६५ जना युवाहरू सहभागी अभ्यासमा सक्रिय रुपमा सहभागी थिए। समापन समारोहमा प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल, सदस्य रामअशषि यादव, सचिव बासुप्रसाद कोइराला, उपसचिव विपिन ठाकुर, नेपाल पत्रकार महासंघका महासचिव शैलेन्द्र महतोलगायतले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियोे ।






