जनकपुरधाम\ जेन–जी पुस्ताको नाममा अराजक समूहद्वारा गरिएका आगजनी तथा तोडफोडका कारण अस्तव्यस्त बनेको मधेश प्रदेश सरकारले शून्यबाट उठ्ने प्रयास थालेको छ। अराजक समूहको आक्रमणले प्रदेश प्रमुख कार्यालयदेखि प्रदेश सभा भवनसम्म प्रयोग अयोग्य बने पनि सरकारले तत्काल वैकल्पिक व्यवस्था गरेर मन्त्रालयहरू सञ्चालन गर्न थालेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र श्रम तथा यातायात मन्त्रालय जलेर पूर्णरूपमा नष्ट भएका छन्। ती कार्यालयमा रहेका कागजातदेखि फर्निचरसम्म खरानी भएका छन्। भौतिक पूर्वाधार, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयमा भने आगजनी भए पनि धेरै कागजात जोगिएका छन्। शिक्षा तथा संस्कृति, कृषि तथा सहकारी मन्त्रालयका भवनमा आगजनी नभए पनि फर्निचरलगायतका सामग्री बाहिर निकालेर जलाइएका छन्। अन्य मन्त्रालयहरूमा सामान्य क्षति भएको छ।

मधेश भवन परिसरमा रहेका ३६ वटा सरकारी गाडी जलेर खरानी भएका छन् भने एक दर्जनभन्दा बढीमा तोडफोड भएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय परिसरमा रहेका ६ वटा गाडी पनि पूर्णरूपमा जलेका छन्। मोटरसाइकलको क्षति अझै यकिन भइसकेको छैन।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लालबाबु कवाडीका अनुसार, कार्यालय पूर्णरूपमा नष्ट भएकाले अब वैकल्पिक रूपमा मधेश भवनभित्रको कर्वड हलबाट काम सुरु गर्ने तयारी भइरहेको छ। अन्य मन्त्रालयहरूलाई पनि वैकल्पिक व्यवस्था गरेर सेवा प्रवाह गर्न निर्देशन गरिएको छ। उनले दुई–तीन महिनाभित्र क्षतिको पूर्ण विवरण संकलन गरी सार्वजनिक गरिने बताए।
श्रम तथा यातायात मन्त्रालयले रेमि प्रोजेक्ट अन्तर्गत भाडामा लिएका कोठाबाट भोलिदेखि काम सुरु गर्ने जनाएको छ भने भौतिक पूर्वाधार तथा ऊर्जा मन्त्रालयले बाँकी रहेका केही कोठाबाट सञ्चालनको तयारी गरेको छ।
यसैबीच, आन्दोलनकारीले प्रदेश सभा सचिवालयलाई समेत निशाना बनाए। तोडफोड र आगजनीबाट करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए। उनका अनुसार सातै दलका संसदीय दल कार्यालय, सभापतिहरूका कार्यकक्ष, सभामुखको कार्यकक्षसहित अधिकांश शाखा प्रभावित भएका छन्।
प्रदर्शनकारीहरूले सचिवालयको गाडीमा आगजनी गरेका छन् भने सभामुख मण्डलकै निजी गाडीमा तोडफोड गरेका छन्। कार्यालयभित्र रहेका फर्निचर, कम्प्युटर, ल्यापटप, टेलिभिजन, पंखा जस्ता सामग्री जलाइएका वा लुटिएका छन्। सभामुख मण्डलका अनुसार, आन्दोलनकारीहरूले उनको निवासमा समेत प्रवेश गरी करिब तीन तोला सुनका गहना लुटेका छन्।
सचिवालयका अनुसार, सभाभित्र रहेको मिडिया सेन्टरका कम्प्युटर र टेलिभिजनसमेत चोरी भएका छन्। हाल जनकपुरधाम बाहिर रहेका सभामुख मण्डलले फर्किएपछि दलका नेताहरूसँग छलफल गरी सचिवालय सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन्।






