जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्र सोनार ‘सोनल’ मधेश प्रदेशका चौथो मुख्यमन्त्रीका रूपमा पद तथा गोप्नीयताको शपथ लिएका छन् ।
विहिवार विभिन्न ६ दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सोनललाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथ गराएकी हुन् । मुख्यमन्त्री भोजपुरी भाषामा शपथ लिएका थिए । मुख्यमन्त्रीको शपथ पश्चात प्रदेश प्रमुख भण्डारीबाट जनमतका संसदीय दलका नेता महेश प्रसाद यादव र एकिकृत समाजवादी पार्टी(नेकपा एस)का साँसद कनिश पटेलललाई बिना विभागीय मन्त्रीका रुपमा शपथ लिएका थिए । सपथ ग्रहण पश्चात मुख्यमन्त्री सोनल जनकपुरधाम–१४स्थित मुजेलिया नजिक रहेको शहिद गेटमा रहेका शहिदहरुको प्रतिमामा माला अर्पण गरेका थिए । त्यसपछि उनी पदभार सम्हालेका थिए ।

मुख्यमन्त्री सोनलले जनता समाजवादी पार्टी नेपालका १९ जना, जनमत पार्टीका १३ जना, नेकपा माओवादी केन्द्रका ९ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ८ जना, नेकपा (एकीकृत समाजवादी)का ७ जना र नागरिक उन्मुक्ति पार्टीका १ जना सांसदको समर्थनमा बहुमत प्राप्त गरेका छन् । यी ६ दलको समर्थनमा बनेको गठबन्धनले मधेश प्रदेशमा नयाँ सरकार गठन गरेको हो । तर बुधवार नै जनमतका पार्टीबाट अलग भएको जनस्वराज पार्टीको पक्षमा दुई जना साँसदले सनाखत गरेका छन् ।
मुख्यमन्त्री सोनलले संविधान दिएको अधिकारको संरक्षण, सुशासन र आर्थिक सम्वृद्धि आफ्नो पहिलो प्राथकिता रहेको बताएका छन् ।
शपथ ग्रहण पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री सोनलले भने, ‘ संविधानले दिएको अधिकारको संरक्षण तथा संस्थागत गर्नुको साथै जेन–जी आन्दोलनले उठाएका सुशासन कायम, प्रदेशको समृद्धि सरकारको प्राथमिकता रहेका रहनेछ ।’
उनले संघीयताको मर्म अनुसार प्रदेश सरकारलाई बलियो बनाउने प्रतिवद्धता पनि जनाए ।
विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने उल्लेख गर्दै नव नियुक्त मुख्यमन्त्री सोनलले नागरिकलाई सहज र पारदर्शी सेवा प्रदान गर्न प्रशासनिक सुधार र प्रविधिमैत्री प्रणालीलाई प्राथमिकता दिने बताए। ‘मुख्यमन्त्रीको पदमा इन्जोय गर्न आएको छैन, म काम गर्न आएको हुँ । मन्त्री हुँदा १६÷१७ घण्टासम्म काम गर्थे । अब त्योभन्दा पनि बढी काम गरेर देखाउँछु’मुख्यमन्त्री सोनलले भने । पदभार सम्हालेपछि मुख्यमन्त्री सोनलले जनताको आवाज, गुनासो र भावना समेटिने कार्यक्रम हेल्लो सिएमलाई निरन्तरता दिने निर्णयमा हस्ताक्षर गरेका छन् ।
शपथग्रहण समारोहमा मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतीशकुमार सिंह पनि सहभागी थिए । तर प्रदेश सभामुख रामचनद्र मण्डल र नेपाली काँग्रेस र एमालेका संसदीय दलका नेता सरोज यादव सपथ समारोहमा सहभागि भएका थिएनन् ।
मुख्यमन्त्री सोनलले केहि दिनमै मन्त्रीपरिषद पुर्णता पाउने बताए ।
‘जसपा नेपालका र माओवादी केन्द्रसँग मन्त्रालय बाडफाँडका विषयमा अझै छलफल बाँकी छ,उनले भने,‘ चाडै गठबन्धन दलको बैठक गरे मन्त्रालयको विषय टुंगो लगाएर सरकार विस्तार गर्छौ ।’ सत्ता गठबन्धन दल बीच मन्त्रालय भागबण्डाको हुन बाँकी रहेपनि मन्त्रालय बाडफाँडको विषयमा समान्य छलफल भएको लोसपाका एक साँसदले बताए । उनका अनुसार जसपा नेपाललाई ३, जनमतलाई ३, माओवादी केन्द्रलाई २ र नेकपा एसलाई २ मन्त्रालय दिने कुराकानी भएको छ । प्रदेशमा मुख्यमन्त्रीसहित १२ मन्त्रालय रहेको छ ।






