जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले संघीयतालाई अझ प्रभावकारी र बलियो बनाउनुपर्ने बताएका छन्।
सोमबार जनकपुरको तिरहुतिया गाछीमा रास्वपाले आयोजना गरेको ‘परिवर्तनको उद्घोषण सभा’लाई सम्बोधन गर्दै उनले अधिकारका लागि नागरिकहरू काठमाडौँ धाउन नपर्ने किसिमको संघीयता आवश्यक रहेकोमा जोड दिए।

उनले भने, “अहिले एउटा मेयरले प्रमुख प्रशासकीय अधिकृत फेर्नुपर्दा काठमाडौँ धाउनुपर्छ। उखु किसान, मिटरब्याजी पीडित सबै काठमाडौँ गएर आन्दोलन गर्न बाध्य छन्। जनकपुर मधेश प्रदेशको राजधानी हो, तर यहाँबाट प्रशासकीय अधिकृत किन फेर्न सकिँदैन? त्यसैले अब बलियो संघीयता चाहिन्छ, जहाँ अधिकारका लागि काठमाडौँ जानु नपरोस्। काठमाडौँ घुम्नका लागि, पशुपतिनाथ र शम्भुनाथको दर्शन गर्न जाऔँ।”
काठमाडौँ महानगरपालिकाको मेयर हुँदा देशका विभिन्न ३५ पालिकालाई एम्बुलेन्स उपलब्ध गराएको, वार्षिक २० हजार विद्यार्थीलाई छात्रवृत्ति दिएको र १० प्रतिशत बिरामीलाई काठमाडौँका महँगा अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको स्मरण गर्दै उनले यसलाई समाजवादको वास्तविक अभ्यास भएको दाबी गरे।

मैथिली भाषामा सम्बोधन गर्दै बालेनले भने, “म काम गर्न आएको हुँ। काम गर्न दिनुहुन्छ नि? म काम गर्ने मान्छे हुँ। मेयर हुँदा काममै व्यस्त थिएँ, राजीनामा दिएर आज पहिलो पटक बोल्दै छु।”
उनले थपे, “मधेशीको छोरा प्रधानमन्त्री बन्छ भनेर मात्र भोट नदिनुस्, एउटा असल मान्छे प्रधानमन्त्री बन्छ भनेर घण्टीमा भोट दिनुहोस्।”
यस सभामा मधेशका सबै जात–समुदायका मानिसहरूको सहभागिता भएको दाबी गर्दै उनले करिब डेढ महिना अघि विवाहपञ्चमीमा सहभागी भएको स्मरण गरे। “यहाँ माता सीता र भगवान रामको विवाह भएको स्थल हो, तर हाम्रा विवाह स्थल किन भारत वा विदेशमा हुन्छन्? यदि यहाँ सरसफाइ, ढलनाला र पोखरीको संरक्षण गरियो भने जानकी मन्दिरले मात्र वार्षिक एक करोडभन्दा बढी पर्यटक भित्र्याउन सक्छ,” उनले भने।
सभालाई सम्बोधन गर्दै रास्वपाका सभापति रवि लामिछानेले आगामी निर्वाचनबाट रास्वपा पहिलो पार्टी बन्ने दाबी गरे। अघिल्लो चुनावमा रोपिएको बीउ यसपटक फल दिने उनको भनाइ थियो। “हामी इतिहास पढ्न होइन, चुनावपछि इतिहास लेख्न आएका हौँ,” उनले भने।
चितवनबाट अत्यधिक मतसहित निर्वाचित भए पनि छलछाम गरेर संसदबाट हटाइएको उल्लेख गर्दै उनले भने, “अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसदमा जानेछौँ।” आफूमाथि लागेका मुद्दाका कारण देशका विभिन्न अदालत धाइरहनुपरे पनि त्यसको कुनै प्रवाह नरहेको उनले बताए। बालेनसँग पाँच मिनेटमै वार्ता सकिएको उल्लेख गर्दै लामिछानेले भने, “देशको हितलाई केन्द्रमा राख्दा वार्ताको नाटक गर्नु पर्दैन। देशको हित र जनताको चाहनाका लागि हामी एक ठाउँमा उभिएका हौँ।”
रास्वपा नेतृत्वमा सरकार बन्ने निश्चित रहेको दाबी गर्दै उनले मधेशको सन्तानलाई पहिलोपटक प्रधानमन्त्री बन्ने अवसर आउने बताए। “मधेशसँगै देशको मुहार फेर्न बालेन शाह आएका छन्,” उनले भने। काठमाडौं महानगरपालिकामा नमुना काम गर्दा पनि केन्द्र सरकारले एउटा प्रशासकीय अधिकृतसमेत दिन नसकेको स्मरण गर्दै उनले भने, “अब प्रशासकीय अधिकृत होइन, तिम्रो सत्ता फेर्ने हो।”

आफ्नो सरकार बनेपछि प्रतिशोध नलिने स्पष्ट पार्दै लामिछानेले भने, “तर वर्षौँदेखि राज्यको ढुकुटी लुटेकाहरूको एक–एक हिसाब अवश्य हुनेछ। देश लुटेर कमाएको सम्पत्तिको जवाफ दिनैपर्छ।”
त्यसैगरी, रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनमा मधेश प्रदेशबाट ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने दाबी गरे। “पहिलो निर्वाचनमा हामीसँग समय कम थियो। यसपटक भने प्रभावशाली नेतासहित मधेश आएका छौँ,” उनले भने।
संघीयताको विरोधी नभएको स्पष्ट पार्दै उनले संघीयताको नाममा भएका बदमासी सच्याउन आवश्यक रहेको बताए।
डा. अमरेश सिंह र रहबर अन्सारी रास्वपामा प्रवेश
जनकपुरमा आयोजित ‘परिवर्तनको उद्घोष सभा’बाट पूर्व सांसद डा. अमरेश सिंह र मधेश प्रदेशसभा सदस्य रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनीहरूलाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले गम्छा ओढाएर स्वागत गरेका थिए।
सभालाई सम्बोधन गर्दै डा. सिंहले बालेन शाह प्रधानमन्त्री बनेमा आफूहरूले मधेशको धर्तिमा आत्मदाह गर्नेसम्मको बलिदान दिन तयार रहेको अभिव्यक्ति दिए। बालेनलाई देशको महानायकको संज्ञा दिँदै उनले भने, “देश र मधेशमा धेरै खलनायकहरू छन्। ती खलनायकहरूलाई ठेगान लगाउन बालेनलाई प्रधानमन्त्री बनाउनुको विकल्प छैन।”
भावुक हुँदै उनले भने, “हामी सीतामाताका सन्तान हौँ। माता सीता यही धर्तीमा समाहित भएकी थिइन्। यदि बालेन प्रधानमन्त्री भएनन् भने म पनि जनकपुरधामको धर्तिमा समाहित हुनेछु।”
मेयरको रूपमा बालेनले मधेशका छोराछोरीलाई छात्रवृत्तिमार्फत निःशुल्क शिक्षा दिलाएको भन्दै उनले यसको खुलेर प्रशंसा गरे।
आइतबार मात्रै प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका रहबर अन्सारीले मधेशमा व्यापक भ्रष्टाचार मौलाएको बताउँदै त्यसलाई हटाउन रास्वपाको ‘भ्याक्सिन’ आवश्यक रहेको धारणा राखे।
यस अघि, आइतबार जनकपुरधाम आइपुगेका बालेन शाहले सोमबार बिहान जानकी मन्दिरको दर्शन गरेका थिए। प्रायः बिहान ८ बजे खुल्ने जानकी मन्दिर बालेन आउने भएपछि बिहान ५ बजे नै खोलिएको थियो। जानकी मन्दिरका महन्थ तपेश्वर दास र छोटा महन्थ रामरोशन दासले उनलाई स्वागत गरेका थिए।
मधेश बलिदानी दिवसको अवसर पारेर बालेन मधेश आन्दोलनका पहिलो शहीद रमेश महतोको सिरहाको लहानस्थित सालिकमा पुगेर माल्यार्पण गरे। त्यसपछि उनी धनुषाको मिथिला नगरपालिका–८ जमुनिवासस्थित मामाको घरसमेत पुगे।
पछि करिब दिउँसो २ बजे तिरहुतिया गाछीमा आयोजित सभामा सभापति रवि लामिछानेसँगै सहभागी भए। सभामा उम्लिएको ठूलो भिडका कारण उनीहरूलाई मञ्चसम्म पुग्न हम्मेहम्मे परेको थियो।






