जनकपुरधाम । श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकुपले आयोजना गरेको पाँच दिने वृहत् शैक्षिक भेला सफलतापूर्वक सम्पन्न भएको छ । ज्ञानकुप परिसरमा सम्पन्न उक्त शैक्षिक मेलाले सामुदायिक विद्यालयप्रतिको विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।
मेलाको उद्घाटन सत्रमा मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने समापन समारोहमा प्रदेश सभामुख रामअशिष यादव प्रमुख अतिथि रहेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख डा. लाभले सामुदायिक विद्यालयको पठनपाठनको गुणस्तरमाथि चौतर्फी प्रश्न उठिरहेका वर्तमान सन्दर्भमा जनकपुरधामको पुरानो तथा ऐतिहासिक विद्यालय ज्ञानकुपले आयोजना गरेको शैक्षिक मेलाले सामुदायिक विद्यालयप्रतिको भरोसा बढाएको बताए। उनले संस्कृत शिक्षासँगै आधुनिक तथा प्राविधिक शिक्षालाई समेत आत्मसात गर्दै अगाडि बढिरहेको ज्ञानकुप विद्यालयको निरन्तर प्रगतिको कामना गरे।
त्यसैगरी, समापन समारोहका प्रमुख अतिथि सभामुख रामअशिष यादवले प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूको इमान्दार प्रयासकै कारण ज्ञानकुप विद्यालयमा उल्लेखनीय सुधार देखिएको दाबी गरे। विद्यार्थीहरूले निर्माण गरेका विविध शैक्षिक सामग्रीहरूको अवलोकन गर्दै उनी अत्यन्तै हर्षित भएको उल्लेख गरे। सभामुख यादवले विद्यालयको सफलताका लागि प्रधानाध्यापक, शिक्षक र विद्यार्थी मात्र नभई अभिभावकहरूको सक्रिय सहयोग र सहकार्य पनि अपरिहार्य रहेको बताए।





विद्यार्थीहरूलाई अध्ययनप्रति थप प्रेरित गर्दै सभामुख यादवले जनकपुरधाम उपमहानगरपालिका–८ का वडाध्यक्ष दिनेश सिंह, प्रधानाध्यापक संजय कुमार झासहित विद्यालयको उन्नतिमा योगदान पु¥याउने व्यक्तिहरूको प्रशंसा गर्दै सम्मानसमेत गरेका थिए। उनले विद्यार्थीहरूले तयार पारेका सामग्रीहरूको अवलोकन गरी उनीहरूको मनोबल उच्च बनाएका थिए।
कार्यक्रममा वडाध्यक्ष दिनेश सिंहले ज्ञानकुप विद्यालयलाई देशकै नमुना विद्यालय बनाउने चाहना व्यक्त गरे। आफूले बाल्यकालमा यही विद्यालयबाट अध्ययन गरेको स्मरण गर्दै उनले भने, “यो विद्यालयप्रति मेरो गहिरो माया छ। नमुना विद्यालय बनाउन म हरसम्भव प्रयास गर्नेछु।”
विद्यालयका प्रधानाध्यापक संजय कुमार झाले विद्यार्थीहरूमा पठनपाठनप्रतिको आकर्षण बढाउन र कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने उद्देश्यले शैक्षिक मेला आयोजना गरिएको बताए। शिक्षक, विद्यार्थी र अभिभावकबीचको समन्वय र सहकार्यले ज्ञानकुप विद्यालय शैक्षिक गुणस्तरमा उल्लेखनीय प्रगति गर्न सफल भएको उनको भनाइ थियो। अभिभाव जागरुक भएको खण्डमा यस्ता गतिवधि हरेक विद्यालयले गर्न सक्ने उनको भनाई छ ।
मेलामा विद्यार्थीहरूले बनाएका रकेट, हवाईजहाज, स्मार्ट सिटी, स्मार्ट गाउँ, भूकम्प तथा वर्षा संकेत गर्ने उपकरणहरू प्रदर्शनीमा राखिएका थिए। साथै परालबाट कागज बनाउने प्रक्रिया, हावा प्रदूषण मापन गर्ने यन्त्रजस्ता सिर्जनात्मक सामग्रीहरू पनि प्रस्तुत गरिएको थियो। विद्यार्थीहरूलाई व्यवसायिक सीप सिकाउने उद्देश्यले फुड स्टलसमेत राखिएको थियो, जहाँ मोमो, चिया, पानीपुरी, गाजरको हलुवा, चाउमिनलगायत परिकारहरू विद्यार्थीहरूले आफैं तयार गरी बिक्री गरेका थिए।
वृहत् शैक्षिक मेलाले आफूहरूलाई केही गरेर देखाउने अवसर दिएको भन्दै विद्यार्थीहरू उत्साहित र खुसी देखिन्थे। आफूहरूले सिकेको ज्ञान व्यवहारमा प्रस्तुत गर्ने अवसर प्रदान गरेकोमा उनीहरूले विद्यालय नेतृत्वप्रति प्रशंसा व्यक्त गरेका थिए।





