जनकपुरधाम । जनकपुरधाम मठ–मन्दिरहरूको शहर मात्र होइन,परिवर्तनको धड्कन बोकेको जनकपुरधाम राजनीतिक चेतनाको शहर पनि हो । राणाकालीन निरङ्कु शासनव्यवस्था होस्, पञ्चायती व्यवस्था वा संवैधानिक राजतन्त्रविरुद्ध उठेका विद्रोही स्वरहरूमा जनकपुरधाम सधैं अग्रपङ्क्तिमा उभिएको छ । इतिहासले दिएको सबल पौरख, दर्शन र विद्रोही स्वभावका कारण यस शहरले परिवर्तनको मुल्य पटक–पटक चुकाएको छ । राजा महेन्द्र शाहमाथि बम प्रहार गरेको कारण वर्षोसम्म तत्कालिन राज्यसत्ताको विभेदमा परेको जनकपुरधाम पछिल्लो समय संघीयताको उद्गमस्थलका रूपमा समेत स्मरण गरिन्छ ।
नेपालको राजनीतिलाई आफ्नै ढंगले बुझ्ने जनकपुरधाम आज मधेश प्रदेशको राजधानीका रूपमा राष्ट्रियदेखि क्षेत्रीय दलहरूको केन्द्रमा पुगेको छ । २०७९ सालको निर्वाचनमा अपेक्षित महत्व नदिएको मधेशलाई यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी यात्राको प्रारम्भ जनकपुरधामबाटै गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले पनि यही भूमिमा प्रदेशस्तरीय चुनावी सभा गर्ने घोषणा गरिसकेको छ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ भित्र जनकपुरधामका अधिकांश वडाहरू अटाएका छन्। व्यापारका गल्लीदेखि ग्रामीण बस्तीसम्म फैलिएको यो क्षेत्र प्रदेश र देशकै ‘हट सिट’का रूपमा चिनिँदै आएको छ । मधेश आन्दोलनले दिएको राजनीतिक चेतना, व्यापारिक केन्द्रको चहलपहल र जातीय–सामुदायिक विविधताले धनुषा–३ लाई केवल निर्वाचन क्षेत्र मात्र होइन, नेपालको राजनीतिक नक्साको खेस्रा(ड्राफ) गर्ने थलेको रुपमा लिईन्छ । जटिल समीकरणले यो क्षेत्रलाई अन्य निर्वाचन क्षेत्रभन्दा फरक बनाएको छ। जेन–जी आन्दोलन पश्चात हुन लागेको यो निर्वाचनले केवल एक सांसद चयन गर्ने मात्र होइन, पुरानो मधेशवादी–मुख्यधार गठबन्धन राजनीति निरन्तरता पाउँछ कि नयाँ वैकल्पिक धारले चुनौती दिन्छ भन्ने प्रश्नको पनि उत्तर खोज्दैछ ।





धनुषा–३ मा नेपाली काँगग्रेसका पुर्व उपसभापति विमलेन्द्र निधी, नेकपा एमालेकी नेतृ जुली कुमारी महतो, जसपा नेपालका परमेश्वर साह सुडी, रास्वपाका प्रवक्ता मनिष झा, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजीव झा,नेपाली कम्युनिस्ट पार्टीका रामललित मण्डलसहित ४५ जना चुनावी मैदानमा उत्रेका छन् । निर्वाचन अचारसंहित छल्ने राष्ट्रिय पार्टीहरुका उम्मेदवारहरु नै सहयोगीको रुपमा ‘डम्मी’ स्वतन्त्र उम्मेदवार खडा गरेको उम्मेदवारको संख्या बढी देखिएपनि चुनावी प्रतिस्पर्धा भने थोरै उम्मेदवारहरु बीच हुने निश्चत छ ।
यस्तो छ उम्मेदवारहरुको चुनावी अवस्था
नेपालको राष्ट्रिय राजनीतिमा कहिले ‘गेम चेन्जर’ त कहिले नयाँ ‘तुरुप’का रूपमा विमलेन्द्र निधि मधेश राजनीतिमा परिचित मात्र होइन, संस्थागत शक्ति बोकेको नाम हो। कांग्रेसको पुर्व उपसभापति र पुर्व उपप्रधानमन्त्रीसमेत रहेका निधिले यही क्षेत्रबाट २०६४ र २०६८ का संविधानसभा निर्वाचन जितिसकेका छन् । २०७४ मा भने तत्कालीन राजपाका राजेन्द्र महतोसँग पराजित हुँदै उनको राजनीतिक यात्रामा पहिलो ठुलो धक्का लागेको थियो। २०७९ मा समानुपातिक रोजेपछि प्रत्यक्ष चुनावबाट बाहिरिए पनि यसपटक पुनः मैदानमा उत्रिएर ‘कमब्याक’को प्रयासमा छन् ।
निधिका समर्थकहरू उनको संगठनमाथिको पकड, मन्त्री हुँदा भौतिक पुर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएको काम र राष्ट्रिय तहमा पहुँचलाई मुख्य शक्ति मान्छन्। तर, कांग्रेसभित्रको गुट–उपगुट नै उनको सबैभन्दा ठूलो चुनौती हो। स्थानीय नेताहरूको मनोविज्ञान व्यवस्थापन र आन्तरिक असन्तुष्टि नियन्त्रण गर्न नसके त्यो संगठनात्मक लाभ नै कमजोर बन्न सक्ने जोखिम छ ।
पार्टीको विशेष महाधिवेशनको विरोधमा कडामा प्रतिवाद गरिरहदाँ नेता निधी नै सहयोगी रहेका रुपमा चिनिएका जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज कुमार साह भने खुसियालीमा मिठाई वित्तरण गरेर गगन थापाको पक्षमा खुलेका थिए । त्यसैगरि, निधीको लामो सहयात्रिको रुपमा रहेका मधेश प्रदेशका साँसद रामसरोज यादव केहि महिना अघि डा.शेखरको गुटमा प्रवेश मात्रै होईन, मधेश प्रदेशमा सो समुहको नेतृत्व पनि गरिरहेका छन् । हुनत निधी प्रतिनिधी सभा सदस्यको लागि उम्मेदवारी दिन जदाँ रामसरोजलाई प्रस्तावक र मनोजलाई समर्थक रुपमा सँगै लिएर निर्वाचन अधिकृत कार्यालय पुगेका थिए ।
नेपाली काँग्रेसका युवा नेता परवेश चौधरीले भन्छन्,‘ मतभिन्ता पार्टीको आन्तरिक कुरा हो । तर यस निर्वाचनमा हामीलाई सबै काँग्रेसजन एक भएर आफ्नो आफ्नो उम्मेदवारलाई जिताउने अभियानमा जुटेका छौ, कुनै अन्तरघात हुदैन ।’ धनुषा क्षेत्र नम्बर ३ मा आफुहरुको विजय सुनिश्त रहेको दावि गर्दै उनले भने,‘ यो सम्वेदनशिल र सचेत रहने समय हो ।’
२०७० सालमा काँग्रेस नेता निधी सँग यहि क्षेत्रमा पराजित भएकी एमाले नेतृ जुलीकुमारी महतो २०७९ सालको निर्वाचनमा तत्कालिन गठबन्धनका उम्मेदवार पुर्व मन्त्री अनिल झालाई साँसद भएकी थिईन । २०६४ मा समानुपातिक कोटमा पहिलो पटक संसद बनेकी महासेठ महिलामा चिर्चित उम्मेदवार हुन् ।
नेकपा एमालेका सहमहासचिव रघुविर महासेठकी धर्मपत्नी समेत रहेकी महतोको कार्यकर्ताहरुमा जर्वजस्त पकड छ । सांसदका रूपमा विद्यालय, स्वास्थ्य संस्था, सडक र पुल–पुलेसाका लागि बजेट ल्याएको महोले दाबी गर्दै आएकी छन्। एमाले संगठनको अनुशासन वडास्तरको नेटवर्क र केन्द्रको समर्थन उनको मुख्य शक्ति हो। तर, सत्तामा रहँदा जनताले प्रत्यक्ष महसुस गर्ने परिवर्तनको प्रश्न भने अझै निर्णायक बनेको छैन। आफुले जिल्लामा विकासको बजेट ल्याएको महतोको दाविले जनताको जीवनस्तरमा कति प्रभाव पार्न सक्यो भने त्यसको लेखाजोखा यहि निर्वाचनले गर्नेछन् ।
बलियो संगठन, अनुशासित कार्यकर्ता, विगतमा गरेको कामको मुल्यांकन र महिलाको सहानुभुतिको अधकारमा महतोको जीत सुनिश्त रहेको नेकपा एमालेका युवा नेता ईर्द महोम्मद साफी(जानी खान मधेशी) दावि गर्छन ।
पहिलो प्रदेश सभा सदस्यमा तत्कालिन राजपाको टिकटमा यहि क्षेत्रबाट निर्वाचित परमेश्वर साह सुडी अहिले जसपा नेपाल र लोसपा बीच एकिकरण हुदाँ जसपा नेपालबाट यो क्षेत्रमा प्रतिनिधी सभा सदस्यका लागि चुनावी मैदानमा छन् ।
प्रदेश सभामा राजपाको तर्फबाट प्रमुख सचेतकको भुमिका निर्वाह गरिसकेका सुडी २०७९ सालको प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दिपेन्द्र ठाकुरसँग पराजित भएका थिए । मधेश पहिचान, अधिकार र संघीयताको मुद्दा अझै जीवित रहेकाले मधेशको आन्दोलनको केन्द्र विन्दु जनकपुरधामबाट सुडीको अवस्थालाई बेवास्ता गर्न मिल्दैन। परमेश्वर साह सुडीको व्यक्तिगत प्रभावले संगठनभन्दा बाहिरका मतदातालाई आकर्षित गर्न सक्ने सम्भावना रहन्छ । यि कुराहरुले सुडिलाई प्रतिस्पर्धी उम्मेदवारको रुपमा लिनु वाध्यत्मक अवस्था छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको धनुषा–३ मा स्थानीय तहमा प्रतिनिधित्व छैन। न वडाध्यक्ष, न मेयर, न पालिका अध्यक्ष । यस हिसाबले हेर्दा संगठनात्मक रूपमा रास्वपा सबैभन्दा कमजोर देखिन्छ । तर पुरानो राजनीतिप्रति असन्तुष्टि, युवा मतदाताको आकर्षण र मधेशी मुलका चर्चित काठमाण्डौ महानगरका पुर्व मेयर बालेन शाहलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नु सहितले रास्वपाको पक्षमा मनोवैज्ञानिक ऊर्जा बनेको छ। माघ ५ गते बालेन स्वयं जनकपुर आइपुगेपछि रास्वपाको चुनावी माहोल एकाएक तातेको देखिन्छ। तर बालेनप्रतिको क्रेज मतपेटिकासम्म पुग्छ की पुग्दैन यो ठुलो प्रश्न हो । स्थानीय तहमा पहुँच नभएकाले मत संकलनमा कठिनाइ आउन सक्छ, तर यदि शहरी क्षेत्र र शिक्षित मतदातामा ठूलो ‘स्विङ’ आयो भने, त्यसले स्थापित दलहरूको गणित बिगार्न सक्छ ।
स्थानीय तह र क्षेत्रमा दलहरुको संगठन
धनुषा–३ मा १ लाख २५ हजार ९२७ मतदाता छन्। ३८ वडामध्ये कांग्रेसको १९, एमालेको १०, जसपा नेपालको ६ वडामा वडाध्यक्ष छन् । जनकपुरधाम उपमहानगर, नगराइन नगरपालिका र धनौजी गाउँपालिकामा कांग्रेस नेतृत्व छ भने मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जसपा नेपालको नेतृत्व छ ।
यसले देखाउँछ भने संगठनात्मक रूपमा कांग्रेस अगाडि भए पनि एमाले पछिपछि लागेको छ । जसपा नेपाल ग्रामिण पडक राखेको छ भने रास्वपा मतदाताको भावनामा निर्भर छ । चुनाव जीतन लोकप्रियता मात्र पर्यात हुदैन । स्थानीय तह र पार्टी संगठन पनि महत्वपुर्ण हुन्छ । चुनावमा निर्णायक कारक भनेको स्थानीय तहको नेतृत्व, वडास्तरीय संगठन र त्यससँग गासिएको पहुँच राजनीति हो। मतदातासँग दैनिक सम्पर्कमा रहने संरचना स्थानीय तह भएकाले त्यसको प्रभाव प्रत्यक्ष निर्वाचनमा गहिरो देखिन्छ ।






