LIVE
बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित |

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिरहाका तत्कालिन मेडिकल सुपरिटेन्डेन्ट नागेन्द्र यादवसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

प्रादेशिक अस्पताल सिरहामा सेवा शुल्क संकलनमा अनियमितता गरी ३८ लाख ७७ हजार ७२४ रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा अस्पतालका तत्कालिन मेडिकल सुपरिटेन्डेन्ट नागेन्द्र यादवसहित आठ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका अनुसार अस्पतालमा मिलेमतोमा कर्मचारी नियुक्त गरी ओपीडीसहित विभिन्न बिलिङ काउन्टरबाट संकलन भएको राजस्व रकम सरकारी खातामा दाखिला नगरी लामो समयदेखि दुरुपयोग गरिएको उजुरीको अनुसन्धानका क्रममा गम्भीर अनियमितता पुष्टि भएको हो ।

अनुसन्धानमा आर्थिक वर्ष २०८०÷८१ मा अस्पतालका आठ वटा बिलिङ काउन्टरबाट संकलन भएको ३ करोड ८७ लाख ६६ हजार ९७४ रुपैयाँ ८३ पैसा राजस्व खातामा जम्मा हुनुपर्ने देखिए पनि अभिलेखअनुसार ३ करोड ४८ लाख ८९ हजार २५० रुपैयाँ मात्र दाखिला भएको पाइएको छ । बाँकी ३८ लाख ७७ हजार ७२४ रुपैयाँ ८३ पैसा हालसम्म दाखिला नगरी हिनामिना गरिएको अख्तियारले जनाएको छ ।

बिलिङ काउन्टरमा कार्यरत कर्मचारीहरूले आ–आफ्नो जिम्मामा संकलित रकम पूरा रूपमा दाखिला नगरेको पाइएको छ । अख्तियारका अनुसार अहेब श्याम कुमार मण्डल, सरस्वती कुमारी यादव, अजय कुमार मण्डल, पुजा कुमारी यादव र रोशन कुमार यादवले लाखौँ रुपैयाँ बराबरको रकम राजस्व खातामा नबुझाएको देखिएको छ ।

त्यसैगरी, अस्पतालका तत्कालीन प्रमुख डा। नागेन्द्र प्रसाद यादव र डा। सरोज यादव, तत्कालीन प्रशासन प्रमुख अशोक कुमार सिंह तथा तत्कालीन लेखा प्रमुख अशोक कुमार यादवले बिलिङ सफ्टवेयरमार्फत संकलन तथा दाखिला रकमको निगरानी गर्न सक्ने अधिकार हुँदाहुँदै पनि लापरवाही तथा बदनियतपूर्वक अनियमितता हुन दिएको अख्तियारको ठहर छ ।

यस प्रकरणमा तत्कालीन लेखा प्रमुख रत्न प्रसाद मण्डलको मृत्यु भइसकेकाले उनीविरुद्ध फौजदारी सजाय माग नगरिए पनि भ्रष्टाचारबाट भएको बिगो रकम उनकी श्रीमती मुस्कान कुमारी मण्डलबाट असुल उपर गर्न मागदाबी लिइएको आयोगले जनाएको छ ।

अख्तियारले सबै प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना तथा बिगो असुल उपरको सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सम्बन्धित खबर