जनकपुरधाम । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ को राजनीतिक तापक्रम उच्च बिन्दुमा पुगेको छ । निर्वाचन आउन अब १२ दिन मात्रै बाँकी रहँदा उम्मेदवारहरू घरदैलो, कोणसभा र चुनावी भेटघाटमा व्यस्त छन् ।
३६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको यो क्षेत्रमा १३ जना विभिन्न राजनीतिक दलका उम्मेदवार हुन् । बहुदलीय प्रतिस्पर्धाका कारण यसपटकको चुनावी समीकरण अघिल्लो निर्वाचनभन्दा फरक र पेचिलो देखिएको छ । यस निर्वाचनमा कांग्रेसका महेन्द्र कुमार राय, जसपा नेपालका डा.सुरेन्द्र कुमार यादव, एमालेकी निलम अधिकारी, नेकपाका भरत प्रसाद यादव, रास्वपाकी गौरी यादव मुख्य प्रतिस्पर्धामा देखिएका छन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार राय विजयी भएका थिए । उनले जनता समाजवादी पार्टी जसपा नेपालका डा. सुरेन्द्र कुमार यादवलाई ४ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । महेन्द्रले २५ हजार ४४८ मत प्राप्त गर्दा सुरेन्द्रले २१ हजार ३३१ मत ल्याएका थिए । जनमत पार्टीका मनोज कुमार साह १० हजार ५९ मतसहित तेस्रो स्थानमा थिए । जसपा नेपालका उम्मेदवार डा.यादव र जनमतका साह अहिले पनि प्रतिस्पर्धामा छन् ।
यसपटक प्रमुख दलहरूबीच कुनै चुनावी गठबन्धन छैन । सबै दलले आफ्नै उम्मेदवार उठाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपाल र जसपा एक भएका छन् भने नेकपा एकीकृत समाजवादी र तत्कालीन नेकपा माओवादी केन्द्र पनि एक भएका छन् ।
प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर नेपाल कम्युनिस्ट पार्टीबाट भरत प्रसाद साह प्रतिनिधि सभामा उम्मेदवार बनेका छन् । २०७४ मा माओवादीले यहाँ उल्लेखनीय मत ल्याएको इतिहासका कारण उनको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी उम्मेदवार गौरी कुमारी र जनमत पार्टीका मनोज कुमार साहले पनि यसपटकको चुनावमा आफूलाई निर्णायक शक्ति बनाउने रणनीति लिएका छन् ।
प्रमुख उम्मेदवारका एजेन्डा र दाबी
कांग्रेस उम्मेदवार रायले आफूलाई ‘जनताको उम्मेदवार’ भन्दै विकासका एजेन्डालाई प्राथमिकता दिएका छन् । कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा काम गरेको दाबी गर्दै उनले केन्द्र र प्रदेश सरकारबाट बजेट ल्याएर क्षेत्रको विकास गरेको बताएका छन् ।
जसपाका उम्मेदावार यादवले पनि आफू राज्यमन्त्री हुदाँ क्षेत्रमा अस्पताल निर्माणदेखि सिँचाइ, सडकसहितका क्षेत्रका काम गरेकोले जनताले आफ्नो पक्षमा मतदान गर्ने दाबी गरे ।
त्यसैगरी, एमालेकी उम्मेदवार निलम कुमारी अधिकारीले देशलाई अस्थिरताबाट जोगाउँदै मधेशको समग्र विकासका लागि उम्मेदवारी दिएको बताएकी छन् । पार्टी संगठन बलियो भएकाले जित सुनिश्चित हुने उनको दाबी छ । महिलाको प्रतिनिधित्व र अधिकारलाई पनि उनले आफ्नो प्रमुख मुद्दा बनाएकी छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का साहले नागरिक समाजको आग्रहमा उम्मेदवारी दिएको बताएका छन् । दक्षिणी भेगमा सिँचाइ समस्या समाधान गर्न सुनकोशी–मरिन डाइभर्सनको पानी ल्याउने पहल गर्ने प्रतिबद्धता उनले जनाएका छन् । संविधानमा उठाइएका फरक मत र प्रत्यक्ष कार्यकारीको मुद्दालाई पनि उनले प्राथमिकतामा राखेका छन् ।
यस क्षेत्रमा राप्रपा, जसपा नेपाल, जनमत पार्टी, नेकपा संयुक्त, राष्ट्रिय जनता पार्टी नेपाल लगायत दलका उम्मेदवार पनि प्रतिस्पर्धामा छन् । उज्यालो नेपाल पार्टी, आम जनता पार्टी, जनता लोकतान्त्रिक पार्टी र मंगल नेशनल अर्गनाइजेशनका उम्मेदवारहरूले पनि चुनावी मैदान तताएका छन् । स्वतन्त्रतर्फ २६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्, जसले मत विभाजनको समीकरणलाई थप जटिल बनाएका छन् ।
विगतको मतपरिणाम
यस निर्वाचन क्षेत्रमा कुल १ लाख ७ हजार ६०६ मतदाता रहेका छन् । २०७९ सालको निर्वाचनमा प्रदेशसभातर्फ एक क्षेत्रमा नेकपा एमाले र अर्को क्षेत्रमा जसपा नेपाल विजयी भएका छन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट डा.सुरेन्द्र कुमार यादव निर्वाचित भएका थिए । उनले १८ हजार ३५३ मत ल्याएर कांग्रेसका महेन्द्र राय यादवलाई पराजित गरेका थिए ।
राय पाँचौँपटक प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् । उनी २०५६ सालमा पहिलो पटक विजयी भएका थिए । त्यसपछि २०६५ मा संविधानसभा निर्वाचनमा पराजित भए । २०७४ मा पुनः पराजित भए पनि २०७९ मा पुनरागमन गर्दै विजयी बनेका थिए ।
महोत्तरी–४ मा यसपटक पुनः यादवद्वयबीच प्रतिस्पर्धा दोहोरिने देखिएको छ । तर, माओवादी धार र रास्वपाको सक्रिय उपस्थितिले प्रतिस्पर्धा त्रिकोणात्मक वा बहुकोणात्मक बन्ने सम्भावना पनि उत्तिकै छ ।






