जनकपुरधाम । आफ्ना पार्टीका उम्मेदवार अर्कै पार्टीमा प्रवेश गरेपछि राष्ट्रिय मुक्ति पार्टी धनुषाले धनुषा क्षेत्र नम्बर–३ केन्द्रित १३ बुँदे साझा विकास एजेन्डा सार्वजनिक गर्दै लिखित रुपमा प्रतिवद्धता जनाउने उम्मेदवार वा पार्टीलाई समर्थन गर्ने घोषणा गरेको छ ।
पार्टीका उम्मेदवार राजिव झा राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरेपछि उत्पन्न अन्योलबीच, उक्त एजेन्डामा लिखित प्रतिबद्धता जनाउने दल वा उम्मेदवारलाई आगामी निर्वाचनमा समर्थन गर्ने निर्णय गरिएको जनाएको छ ।
घोषणा पत्रमा लोकतन्त्र, नागरिक अधिकार र समावेशी विकासलाई प्राथमिकता दिँदै नगराइन–जटहीमा शहीद दुर्गानन्द झा स्मृति अस्पताल निर्माण, प्रादेशिक बाल अस्पताल तथा प्रसूति गृह स्थापना, राजर्षि जनक विश्वविद्यालय को निर्माण तीव्रता, डा. लक्ष्मी नारायण झाको अवस्थाबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग समेटिएको छ ।

यसैगरी रामजानकी अन्तर्राष्ट्रिय रंगशाला लाई ‘मेगा प्रोजेक्ट’ का रूपमा अघि बढाउने, जानकी मन्दिर लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने, जनकपुरधाम विमानस्थल स्तरोन्नति, जटही भन्सारलाई सुक्खा बन्दरगाहका रूपमा विकास गर्ने र जानकी चक्रपथ निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख छ ।
ग्रामीण उद्योग ग्राम स्थापना, बोटानिकल गार्डन विकास, महिला उद्यम कोष, युवाका लागि स्टार्टअप अनुदान र भ्रष्टाचारमुक्त प्रशासनलाई पनि एजेन्डामा समेटिएको छ। पार्टीले यी १३ बुँदालाई धनुषा–३ को समृद्धिसँग जोडिएको विषय बताउँदै लिखित सहमति जनाउने पक्षलाई पूर्ण समर्थन गर्ने जनाएको छ ।





