जनकपुरधाम । जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गरी खाद्य पदार्थमा मिसावट गर्ने मधेश प्रदेशका ४१ उद्योग विरुद्ध मुद्दा दायर गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले अनुगमनका क्रममा संकलन गरिएका नमूनाहरू परीक्षण गर्दा अखाद्य तथा गुणस्तरहीन पदार्थ मिसाएर उत्पादन गरिएको पुष्टि भएपछि सम्बन्धित उद्योगमाथि कानुनी कारबाही अघि बढाएको हो । कार्यालयका प्रमुख विमलकुमार दाहालका अनुसार सबैभन्दा बढी अनियमितता पर्सा र बाराका उद्योगहरूमा फेला परेको छ । ती दुई जिल्लाका मात्रै ३८ उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ ।

कारबाहीमा परेका उद्योगमध्ये सूर्यमुखी तेल उत्पादन गर्ने ८, भटमास तेलका ४, मह उत्पादन गर्ने १७, वामोलिस उत्पादन गर्ने १ तथा वनस्पति घ्यु उत्पादन गर्ने २ उद्योग रहेका छन् । सर्लाहीमा पाउरोटी, चाउमिन र खानेपानी उत्पादन गर्ने तीन उद्योगविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
दायर गरिएका मुद्दामध्ये केही जिल्ला प्रशासन कार्यालय तथा केही जिल्ला अदालतमा विचाराधीन छन् भने धनुषाका तीन उद्योगमाथि अनुसन्धान जारी रहेको जनाइएको छ ।
यसैबीच, स्वास्थ्य क्षेत्रका अधिकारीहरूले खाद्य पदार्थमा हुने मिसावटलाई बढ्दो नसर्ने रोगको प्रमुख कारणमध्ये एकका रूपमा औंल्याएका छन् । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.प्रमोदकुमार यादवले गुणस्तरहीन तथा मिसावटयुक्त खाद्य वस्तुको नियमित सेवनले उच्च रक्तचाप, मधुमेह, मुटु तथा मिर्गौला सम्बन्धी रोगको जोखिम बढाईरहेको बताए ।
खाद्य सुरक्षाको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन तथा उपभोक्ता सचेतना अभिवृद्धिमा जोड दिँदै स्वस्थ समाज निर्माणका लागि खाद्य गुणस्तर सुनिश्चित गर्नु अपरिहार्य रहेको सचिव यादवले बताए ।







