LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स्थित जानकी प्लास्टिक उद्योगमा छापामारि गरेको छ ।

सिरहाबाट बरामद भएका नक्कली पाइपको स्रोत खोज्दै पुगेको प्रहरी टोलीले उद्योगमा छापा मारे पनि अपेक्षाकृत थोरै मात्रामा शंकास्पद पाइप फेला पारेपछि छापापछि उद्योगबाट प्रमाण हटाइएको हुन सक्ने आशंका समेत गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाको विशेष टोलीले शनिबार गोलबजार नगरपालिका–४ स्थित नेहाल आइरन स्टोरमा छापा मारेर मार्वल कम्पनीको नाम र लोगो अंकित ६ सय ३२ थान विभिन्न साइजका बोरवेल पाइप बरामद गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा ती पाइप मार्वल कम्पनीका आधिकारिक उत्पादन नभएको कम्पनीका प्रतिनिधिले जनाएपछि प्रहरीले ती नक्कली पाईप उत्पादन गर्ने उद्योगको खोजि गरेको थियो ।

नेहाल आइरन स्टोरका सञ्चालक ४५ वर्षीय महम्मद साबिर खानलाई शनिवार नै नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले उक्त पाइप धनुषाको जानकी प्लास्टिक उद्योगबाट खरिद गरेको बयान दिएको थियो । त्यसपछि शनिबार साँझ नै प्रहरी टोली जानकी प्लास्टिक उद्योग पुगेको थियो। तर उद्योगमा गरिएको खानतलासीका क्रममा प्रहरीले अपेक्षाभन्दा थोरै परिमाणमा नक्कली पाइप बरामद गरेको थियो । श्रोतका अनुसार उद्योग परिसरमा रहेका अन्य पाइप छापाको जानकारी पाएलगत्तै अन्यत्र सारिएको हुन सक्ने आशंका गरिएको छ ।

सिरहा प्रहरी उपरीक्षक बासुदेव पाठकले उद्योगमा छापा मार्दा सीमित परिमाणमा मात्रै पाइप बरामद भएको पुष्टि गर्दै अनुसन्धान अझै जारी रहेको बताए । ‘हामीले उद्योगमा छापामारी गर्दा केही मात्रामा मात्रै शंकास्पद पाइप बरामद गरेका छौं। उद्योग सञ्चालक पक्ष सम्पर्कमा छैन। उहाँहरूको खोजी भइरहेको छ। घटनासँग सम्बन्धित सबै पक्षको अनुसन्धान भइरहेको छ र प्रमाणका आधारमा कानुनबमोजिम कारबाही अघि बढाइन्छ,’ उपरीक्षक पाठकले भने । उनले आइतबार पनि प्रहरी टोली उद्योगमा पुगेर पुनः तलाशी तथा आवश्यक प्रमाण संकलन गरेको बताए ।

उद्योगसँग निकट स्रोतहरूले भने प्रहरी छापा परेपछि उद्योग परिसरमा रहेका ठूलो परिमाणका पाइप शनिबार राति नै अन्यत्र सारिएको दाबी गरेका छन्। यस विषयमा उनले भने,‘ उद्योगबाट कुनै सामग्री हटाइएको भन्ने सूचना पनि हामीले पाएका छौं। त्यसबारे पनि अनुसन्धान भइरहेको छ । अहिले नै त्यसलाई पुष्टि गर्ने वा अस्वीकार गर्ने अवस्था छैन,’।

इता, जनकपुरधाम जानकी चौकीका इञ्चार्ज सई जितेन्द्र प्रसाद चौधरीले आफूहरूलाई उद्योगभित्र रहेका सामग्री यथास्थितिमा राख्न र कुनै पनि सामान बाहिर जान नदिन माथिबाट निर्देशन आएको बताए । यसैबीच जानकी प्लास्टिक उद्योगकी सञ्चालिका अनिता अग्रवाल परिवारसहित सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । उपरीक्षक पाठकका अनुसार उनीहरु शनिबारदेखि नै फरार रहेका छन् । उद्योगकी सञ्चालिका तथा सम्बन्धित व्यक्तिहरू सम्पर्कमा छैनन्, उनले भने,‘ हामी उहाँहरूको खोजी गरिरहेका छौं। अनुसन्धानमा आवश्यक सबै व्यक्तिलाई कानुनी दायरामा ल्याइनेछ,।’

प्रहरी स्रोतका अनुसार अनिता अग्रवालको नाममा नेपालका विभिन्न स्थानमा जग्गाजमिन, उद्योग तथा अन्य व्यवसायसमेत रहेका छन् ।
मार्वल टेक्नो प्लास्टका मार्केटिङ म्यानेजर सुदीप न्यौपानेले त्यस सिरहाको गोलबजार क्षेत्रमा तीन वर्षदेखि कम्पनीको नाम र लोगो दुरुपयोग गर्दै नक्कली पाइप बिक्री भइरहेको आरोप लगाए । उनका अनुसार बजार अनुगमनका क्रममा उपभोक्ताले आफूहरूले मार्वलकै पाइप प्रयोग गरिरहेको बताए पनि कम्पनीको आधिकारिक बिक्री अभिलेखमा त्यस क्षेत्रका लागि कुनै आपूर्ति नभेटिएपछि आफुहरुमा शंका उत्पन्न भएको थियो । त्यसको सोधखोज गर्दा कम्पनीकै नाम र लोगो प्रयोग गरिएका पाइप बजारमा बिक्री भइरहेको फेला परेको उनले दाबी गरे ।

प्रहरीले उपभोक्ता ठगी, ट्रेडमार्क उल्लंघन तथा सम्बन्धित कानुनी व्यवस्थाअन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ। हालसम्म नेहाल आइरन स्टोरका सञ्चालक महम्मद साबिर खान पक्राउ परेका छन् भने करिब एक दर्जन व्यक्तिलाई अनुसन्धानको दायरामा राखिएको प्रहरी स्रोतले जनाएको छ। उद्योग, आपूर्ति सञ्जाल र वितरण प्रक्रियामा संलग्न अन्य व्यक्ति तथा व्यवसायीको भूमिकाबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित उद्योग तथा सञ्चालक पक्षबाट भने हालसम्म यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

सम्बन्धित खबर