महोत्तरी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी अन्तर्गत महोत्तरी जिल्लामा पूर्वसभापति शेरबहादुर देउवा पक्षले रामदयाल यादवलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको छ ।
१५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालाले असोज ११ गते यादवलाई महोत्तरी जिल्ला संयोजक मनोनयन गरिएको पत्रमा उल्लेखछ । पत्रमा महाधिवेशन तयारीका क्रममा जिल्ला तहमा संगठनात्मक गतिविधि सञ्चालन तथा समन्वय गर्ने जिम्मेवारी यादवलाई दिइएको छ ।
यादव महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ तथा प्रदेश निर्वाचन क्षेत्र नम्बर ४(ख) का नेता हुन् । उनी यसअघि नेपाली कांग्रेसको पूर्व क्षेत्रीय सचिव, पूर्व जिल्ला कार्यसमितिको कार्यालय सचिव तथा जिल्ला विकास समितिको पूर्व इलाका सदस्यका रूपमा काम गरिसकेका छन् ।

यादव नेपाली कांग्रेस महोत्तरीका दुई पटक सचिव भइसकेका छन् । यादवले दुई वर्ष कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी समेत सम्हालेका थिए । २०६२/०६३ को जनआन्दोलनका क्रममा लामो समय जेल जीवन बिताएको हुन् । यादव लगातार पाँच पटकदेखि नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य रहँदै आएका छन् । हाल पनि उनी पार्टीका केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हुन् । यसअघि महोत्तरी कांग्रेसको संगठन विभाग प्रमुखको जिम्मेवारीमा रहेका यादवलाई देउवा पक्षले १५औँ महाधिवेशन तयारीका लागि जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।
पार्टी संगठनमा लामो समयदेखि सक्रिय यादवलाई कांग्रेसभित्र स्वच्छ छवि, इमानदार र बौद्धिक व्यक्तिका रूपमा चिनिने उनका समर्थकहरूको दाबी छ । जिल्ला संयोजकको जिम्मेवारी पाएसँगै उनले महोत्तरीमा देउवा पक्षको महाधिवेशन तयारी, संगठन विस्तार तथा कार्यकर्ता परिचालनमा समन्वय गर्नेछन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीका क्रममा विभिन्न जिल्लामा देउवा पक्षले संयोजक तोक्ने क्रम अघि बढाएको छ । महोत्तरीमा यादवको मनोनयनलाई पनि सोही तयारी अन्तर्गतको कदमका रूपमा हेरिएको छ ।






