LIVE
जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन | मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग |

जनकपुरधाम । जनमत पार्टीको दोस्रो महाधिवेशनले डा.चन्द्रकान्त (सीके) राउतलाई पुनः अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष पदमा राउतको एक्कलो उम्मेदवारी परे पनि विधानमा रहेको २० प्रतिशत मतको थ्रेसहोल्ड पूरा गर्नुपर्ने व्यवस्थाका कारण मतदान भएको थियो ।

वीरगञ्जमा सम्पन्न महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा राउतले ९५८ मत प्राप्त गर्दै अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । एकल उम्मेदवार रहेका राउतले आवश्यक मतसीमा पार गरेपछि पार्टीको नेतृत्वमा निरन्तरता पाएका छन् । तर, अध्यक्षबाहेकका पदमा भने महाधिवेशनमा प्रतिस्पर्धात्मक निर्वाचन भएको छ । २६ पदाधिकारीसहित ९९ पदका लागि भएको निर्वाचनले अध्यक्षबाहेक पार्टीको कार्यकारिणी संरचनामा नयाँ अनुहारलाई समेत स्थान दिएको छ ।

महासचिव पदमा सिरहाका सञ्जयकुमार यादव निर्वाचित भएका छन् । यादवले ६१८ मत प्राप्त गर्दै निवर्तमान महासचिव चन्दनकुमार सिंह र ममता झालाई पछि पारे । झाले २२० तथा सिंहले १६५ मत प्राप्त गरे । दुवैले पार्टी विधानअनुसार आवश्यक २० प्रतिशत मत प्राप्त गर्न नसकेको जनमत पार्टीले जनाएको छ ।

उपमहासचिवमा सिरहाका निर्मलकुमार मण्डल निर्वाचित भएका छन् । उनले ५०१ मत प्राप्त गर्दा प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत पाए ।

महाधिवेशनबाट सात जना उपाध्यक्ष निर्वाचित भएका छन् । अनिताकुमारी मण्डल, अनितादेवी साह, नरेन्द्रप्रसाद चौधरी, बसन्तकुमार कुशवाहा, डा. जयकान्त राउत, राजकुमार यादव र माधवप्रसाद सिंह उपाध्यक्ष बनेका छन् ।

उपाध्यक्षका लागि ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । परमेश्वर मुर्मु, हरपाल सिंह सोडी, मनोहरा देवी बैठा र रोशन खातुन भने पराजित भएका छन् ।
त्यस्तै, सात जना सचिव पनि निर्वाचित भएका छन् । सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी सचिवमा निर्वाचित भएका हुन् । सचिव पदमा नौ जनाबीच प्रतिस्पर्धा भएको थियो । वीरेन्द्र महतो ‘जीवन त्यागी’ र रामबाबु साह निर्वाचित हुन सकेनन् ।

दोस्रो महाधिवेशनबाट राउतले अध्यक्षमा निरन्तरता पाए पनि पार्टीको महत्वपूर्ण कार्यकारी पद महासचिवमा भने नयाँ नेतृत्व आएको छ । यसले जनमत पार्टीको शीर्ष नेतृत्वमा अध्यक्ष राउतकै निरन्तरता कायम राख्दै संगठन सञ्चालनका अन्य तहमा नयाँ संयोजन भएको देखाएको छ ।

वीरगञ्जमा सम्पन्न महाधिवेशनले अध्यक्षसहित नयाँ केन्द्रीय कार्यकारिणी संरचना चयन गरेको हो । ९९ पदका लागि भएको निर्वाचनमा अधिकांश पदमा प्रतिस्पर्धा भएको थियो ।

सम्बन्धित खबर