जनकपुरधाम । युनिभर्सल प्रउटिष्ट युवा संघ धनुषाको आयोजनामा आईतवार बिहान जनकपुरधाममा सर्वभक्षी विश्वव्यापी पुँजीवादको एकमात्र विकाल्प आनन्द मार्ग प्रउत र नयाँ मानता शिक्षा प्रणाली सम्बन्धि विषयमा पत्रकार सम्मेलन सम्पन्न भएको छ।
सम्मेलनमा प्रउत सिद्धान्त तथा त्यसको सामाजिक, आर्थिक र आध्यात्मिक प्रभावबारे वक्ताहरुले मन्तव राखेका छन् ।
कार्यक्रममा बोल्दै आनन्द मार्ग दिल्ली सेक्टरका आचार्य सत्यव्रतनन्दले वर्तमान पूँजीवादी व्यवस्थाले केवल आफ्नो लाभका लागि वातावरणदेखि मानवतालाई समेत विनाश गर्ने कार्य गरिरहेको आरोप लगाए। “पूँजीवादको केन्द्रमा केवल नाफा हुन्छ, जसले गर्दा नैतिकता, करुणा, सामाजिक न्यायजस्ता मानवीय मूल्यहरू उपेक्षित भइरहेका छन्,“उनले भने । आनन्द मार्ग कुनै धर्म विशेषको नभई सबै धर्मका व्यक्तिहरुको लागि दर्शन रहेको उनको भनाई थियो ।

उनका अनुसार आजको विश्वमा देखा परेका असमानता, द्वन्द्व, बेरोजगारी र पर्यावरणीय संकट सबै पूँजीवादी सोचाइको परिणाम हुन्। उनले भने, “अबको आवश्यकता भनेको आध्यात्मिक चेतनामा आधारित, न्यायपूर्ण र समतामूलक प्रणाली हो — जसलाई प्रउत सिद्धान्तले स्पष्ट रूपले दिशा दिन्छ।“ पत्रकार सम्मेलनमा प्रउतका १६ मुख्य आधारहरू — आध्यात्मिक उन्नति, नीतिमा आधारित नेतृत्व, विकेन्द्रित अर्थतन्त्र, उत्पादनको न्यायसंगत वितरण, र जीवनोपयोगी स्रोतहरूको अधिकतम उपयोगसहितको विषयमा आचार्य पुण्येशानन्दले प्रस्तुत गरेका थिए ।
पुँजीवादका कारण संसारमा धनि मान्छे झन धनी र गरिव झन गरिब हुदै गएको उल्लेख गर्दै उनले भने,‘ पुँजीवादले विश्वको शान्तिमा ठुलो हस्तेक्षप गरिरहेका छन् । त्यसैले संसारका विभिन्न देशहरुमा हत्या, हिंसा, युद्ध, आतंकवाद जस्ता अप्रिय घटनाहरु भईरहेको छ ।’
कार्यक्रममा युनिभर्सल प्रउटिष्ट युवा संघ धनुषाका अध्यक्ष इन्जिनियर महेश कुमार यादवले “आनन्द मार्ग” लाई आत्म–साक्षात्कार र समाजसेवाको मार्गको रूपमा लिनुपर्ने बताए । नैतिक र अध्यात्मिक शिक्षाले मात्र विश्व कल्याण हुने उनले दावि गरे ।






