सर्लाही । मुस्लिम बोर्ड नेपालको पहलमा सर्लाहीको मलंगवामा जहरा नेशनल एकेडेमीको स्थापना तथा मुस्लिम बोर्ड नेपालको नयाँ कार्यालयको औपचारिक उद्घाटन गरिएको छ। शुक्रबार आयोजित कार्यक्रममा दुई फरक सत्रमा शैक्षिक तथा सामाजिक–राजनीतिक छलफलहरू सञ्चालन गरिएको थियो।
पहिलो सत्रमा आयोजित शैक्षिक गोष्ठीमा दारुल उलूम जिलानिया मलंगवा, अल–मदिना कलेज फर गल्र्स, फातिमा अल–जहरा सेन्टर फर गल्र्स र फैजान सदर अल–शरिया विश्वविद्यालय, बेल बाम्बू लगायतका शैक्षिक संस्थाहरूका विद्वानहरू सहभागी थिए। गोष्ठीमा विशेषगरी महिलाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
सो अवसरमा वक्ताहरूले मुस्लिम समाजमा शिक्षा प्रवद्र्धनका लागि जहरा नेशनल एकेडेमीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
दोस्रो सत्रमा विद्वान, शिक्षक तथा सामाजिक–राजनीतिक अगुवाहरूको सहभागितामा मुस्लिम बोर्ड नेपालको हालसम्मको उपलब्धि र भावी कार्ययोजनाका विषयमा विचार विमर्श गरिएको थियो। वक्ताहरूले मुस्लिम बोर्ड नेपालले छोटो अवधिमै राष्ट्रिय गौरव हासिल गरेको उल्लेख गर्दै, यसले मुस्लिम समुदायमा शिक्षा, सामाजिक उत्थान र राजनीतिक सहभागितालाई सबल बनाउन उल्लेखनीय योगदान दिएको बताए।
कार्यक्रममा पूर्व गृहमन्त्री तथा कानूनमन्त्री बिमला अन्सारी तरन्नम पहिलो सत्रकी प्रमुख अतिथि रहिन् भने गोष्ठीको सञ्चालन उलेमा सईदा अशरफ बस्तापुरीले गरिन्। दोस्रो सत्रमा संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपगृहमन्त्री मुहम्मद रिजवान अहमद प्रमुख अतिथि थिए।
त्यसैगरी मलंगवा नगरपालिकाका मेयर डा. अब्दुल रहिम मकरानी, नेता कय्युम हुसेन, कांग्रेस नेतृ नव्या सिंहलगायत विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तिहरूले पनि उपस्थिति जनाएका थिए।

समारोहमा अल्लामा मुफ्ती अब्दुल गफ्फार साकिब मिस्बाही काजी सर्लाही, अल्लामा मुफ्ती युसुफ अली मुस्तफावी, अल्लामा बशीर कादरी कब्लास्वी, अल्लामा सगीर अहमद रिजवी, मौलाना मन्सुर मिस्बाही महोत्तरी, मौलाना मुजाहिदुल इस्लाम मिस्बाही लगायत सयौं विद्वान र इस्लामिक विद्वानहरूको व्यापक सहभागिता रहेको थियो।
दोस्रो सत्रको अध्यक्षता मुस्लिम बोर्ड नेपालका प्रान्तीय अध्यक्ष मौलाना मेराज असदुद्दीन रिजवीले गरेका थिए भने कार्यक्रमको सञ्चालन मौलाना शाहिद रजा कादरीले गरेका थिए।
कार्यक्रमको समापनमा मुस्लिम बोर्ड नेपालका केन्द्रीय अध्यक्षले कतार र साउदी युनिटसहित सम्पूर्ण अतिथि, समर्थक तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै संस्थाले आगामी दिनमा अझ व्यापक रूपमा सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।






