जनकपुरधाम । मधेस प्रदेश सभाको सभाभुखमा सत्ताारुढ गठबन्धन दल जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित भएका छन् ।
आइतबार भएको प्रदेश सभामुख निर्वाचनमा प्रदेश सभा बैठकमा उपस्थित ९६ जना प्रदेश साँसद मध्ये ७२ जनाले यादवको पक्षमा मतदान गरेका थिएका थिए । भने विपक्षमा २४ जना प्रदेश सभा सदस्य मतदान गरेका थिए । यादव सत्तारुढ ७ दलीय गठबन्धन दलका उम्मेदवार थिए भने उनको विपक्षमा नेकपा एमालेका प्रदेश साँसद त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराएका थिए ।
सभामुखको ड्यासमा बसेकी उपसभामुख बबिता राउत ईशरले बहुमत सदस्यले नेपाली काँग्रेसका उपनेता वीरेन्द्र प्रसाद सिंहको प्रस्तावमा मतदान गरेकाले यादव सभामुखमा निर्वाचित भएको घोषणा गरिन् ।
पहिलो प्रस्तावमै बहुमत सदस्यले पक्षमा मतदान गरेकाले दोस्रो उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गर्नुपर्ने नभएको सदनलाई जानकारी गराइन् ।

धनुषा निर्वाचन क्षेत्र नं. २ (ख)बाट निर्वाचित यादव जसपा नेपालका प्रमुख सचेतकको रुपमा थिए। पहिलो कार्यकालमा समेत सोही पार्टीबाट प्रत्यक्षमै निर्वाचित भएकोमा उनी दलको उपनेता रहेका थिए। प्रदेश सभाको दुई कार्यकालमा प्रत्यक्षमै निर्वाचित भएका यादवलाई पटक–पटक मन्त्री बनाउने चर्चा चले पनि उनी हालसम्म मन्त्री बन्न सकेका थिएनन् । धनुषाको कनकपट्टी २०२६ साल चैत्र १५ मा जन्मेका यादवको पृष्ठभुमि शिक्षक र पत्रकारिता हुन् ।
स्नातक तहसम्म अध्ययन गरेका यादव वि.सं. २०५४÷५५ तिर काभ्रे जिल्लाको एक सामुदायिक विद्यालयमा अंग्रेजी विषयका शिक्षकको रुपमा पढाउन सुरु गरेका थिए । पछि उनले रेडियो नेपालबाट धनुषा संवाददाताको रुपमा पत्रकारिता सुरु गरेका थिए। २०६७ सालमा नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्षमा निर्वाचित भएका यादव २०४५ सालमा नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीति सुरु गरेका थिए ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष रहेकै अवस्थामा उनी जनकपुरधामको एतिहासिक गंगासागर पोखरीको सरसफाई र त्यसमा दैनिक गंगागा आरती अभियान सुरु गर्दा चर्चामा आएका थिए । २०७४ को निर्वाचनमा पहिलो पटक तत्कालीन संघीय समाजवादी फोरमबाट उम्मेदवार भई धनुषा निर्वाचन क्षेत्र नम्बर २ को ख बाट पहिलो पटक प्रदेश साँसद भएका थिए ।
नेपाली काँग्रेससहित ७ दलले २६ कार्तिकमा नेकपा एमालेकाबाट निर्वाचित सभामुख रामचन्द्र मण्डललाई पद अनुसारको आचरण नगरेको आरोप लगाउदै हटाएका थिए । नेकपा एमालले ठुलो दलको हैसियतमा मधेश प्रदेश सरकारको नेतृत्व लिएपछि तत्कालिन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र प्रदेश सभामुख पद गुमाएका थिए ।







