जनकपुरधाम । भोलि विहिवार हुने प्रतिनिधिसभा निर्वाचनको मौन अवधिमा मधेश प्रदेश लगातार सुरक्षा घटनाले तरंगित बनेको छ । उम्मेदवार नै नियन्त्रणमा पर्नु, सुतली बमसहित व्यक्तिहरू पक्राउ पर्नु, सीमा क्षेत्रमा विस्फोट हुनु र ठूलो संख्यामा मतदानस्थल अतिसंवेदनशील सूचीमा पर्नुले यसपटकको निर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धा नभई सुरक्षा संयन्त्रको चुनौति पुर्ण देखिएको छ ।
सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादवलाई नगद रकमसहित प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । नेपाल–भारत सीमाबाट सदरमुकामतर्फ आउँदै गरेको सवारी साधन जाँच गर्दा ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको र मतपत्रसमेत फेला परेको प्रहरी दाबी छ ।

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरी पनि नियन्त्रणमा परेका छन् । उनी चढेको गाडीमा विस्फोट पर्दाथ फेला परेकोले उनी सहित थप तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरि, मंगलवार प्रहरीले पर्साबाट ९ लाख ४० हजार रुपैयाँसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरि, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का धनुषा क्षेत्र नं. १ का उम्मेदवार रामचन्द्र मण्डलका ज्वाई रमेश मण्डललाई सरकारी गाडी दुरुपयोगको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनी सरकारी नम्बर प्लेटको गाडीमा पराईभेट नम्बर लगाएर चलाउँदै आएका थिए ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार मौन अवधिमा मात्रै पर्सा जिल्लामा ८, धनुषामा २ र सिरहामा २ गरि १२ जनालाई निर्वाचन अचारसंहिता उल्लघन गरेको आरोपमा पक्राउ गरिएको छ । १२ जना मध्ये २ जना प्रतिनिधि सभाका उम्मेदवार समेत छन् । त्यसैगरि, बुधवार होलि पर्वको अवसरमा प्रदेशका ८ वटै जिल्लामा एक सयभन्दा बढी मोटरसाईकल र करिव दुई दर्जन व्यक्तिलाई नियन्त्रणमा लिएको मधेश प्रदेश प्रहरी कार्यालय का प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले बताए ।
यसैबीच, वीरगञ्ज महानगरपालिका–१६ बाट ९ थान सुतली बमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार निर्वाचन सुरक्षालाई लक्षित गर्दै गरिएको विशेष सर्च अप्रेसनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूको साथबाट सुँगुरको टाउकोसमेत बरामद भएको छ । प्रारम्भिक अनुसन्धानले धार्मिक सद्भाव भड्काउने उद्देश्य रहेको संकेत देखाएको प्रहरीको भनाइ छ । डिआईजी थपलियाले समयमै हस्तक्षेप भएकाले सम्भावित साम्प्रदायिक तनाव टरेको बताएका छन् । पछिल्ला वर्षमा वीरगञ्ज क्षेत्रमा सानातिना साम्प्रदायिक विवाद देखिँदै आएकाले यो घटना अझ संवेदनशील बनेको छ ।
त्यसैगरि, मंगलवार धनुषा–महोत्तरी सीमा क्षेत्रअन्तर्गत मिथिला नगरपालिका–बडहरी बजारनजिक शंकास्पद वस्तु विस्फोट हुँदा दुई बालबालिका घाइते भएका छन् ।
स्थानीय बालबालिका खेलिरहेको बेला अज्ञात वस्तु पड्किएको बताइएको छ । घटनापछि सोही क्षेत्रमा अर्को शंकास्पद वस्तु फेला परेको थियो, जसलाई नेपाली सेनाले निष्क्रिय पारेको थियो । केही समय पूर्व–पश्चिम लोकमार्ग आसपास त्रास फैलिएको थियो ।
आधाभन्दा बढी मतदानस्थल अतिसंवेदनशील
मधेश प्रदेशका २,१६० मतदानस्थलमध्ये १,२४६ स्थल अतिसंवेदनशील सूचीमा छन् । खुला सीमा, विगतका बुथ कब्जा, अवैध नगद चलखेल, हतियार ओसारपसार तथा साम्प्रदायिक संवेदनशीलतालाई आधार मानेर सुरक्षा वर्गीकरण गरिएको हो । मधेश प्रदेशका ८ वटै जिल्लाका भारतसँग सिमा जोडिएका नाकाहरु बन्द गरेको छ ।
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागसहित ६५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भित्री, मध्य र बाहिरी घेरासहित त्रिस्तरीय सुरक्षा योजना लागू गरिएको छ भने ड्रोन निगरानी, मोबाइल गस्ती र स्ट्राइकिङ टोली तयारी अवस्थामा राखिएको डिआईजी थपलियाले बताए ।
मौन अवधिमा देखिएका यी चारवटै घटनाले निर्वाचन केवल मतपत्रमार्फत प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र होइन, राज्यको सुरक्षा संयन्त्रको प्रभावकारिता परिक्षण पनि रहेको छ । एकातिर आचारसंहिता उल्लंघनमाथि कडाइ, अर्कोतर्फ साम्प्रदायिक द्वन्द्व भड्काउने प्रयास र विस्फोटक पदार्थका घटना—यी सबैले मधेशमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित मतदान सुनिश्चित गर्नु ठूलो चुनौती बनेको छ । निर्वाचनको मुखमा देखिएको यस्तो गतिविधिले अस्थिरता सिर्जना गर्ने प्रयास भए पनि सुरक्षा संयन्त्रको सक्रियताले सम्भावित ठूलो क्षति टारेको दाबी गरिएको छ ।






