जनकपुरधाम । मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी सिर्जना गर्न माग गरेकी छिन् ।
अन्य प्रदेशको तुलनामा मधेश प्रदेशको शिक्षकको दरबन्दी न्युन रहेको भन्दै मन्त्री शर्माले तत्काल तत्काल नयाँ दरबन्दी सिर्जना गर्न संघ सरकारसँग माग गरेकी हुन् ।
जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत विद्यालय ज्ञानकुपको ११७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री तिवारीले मधेशको शैक्षिक सुधारमा शिक्षक अभाव मुख्य बाधक बनेको बताईन । मधेशका अधिकांश विद्यालयमा विद्यार्थीको चाप अत्यधिक भए पनि त्यसअनुसार शिक्षक व्यवस्थापन हुन सकेको मन्त्री शर्माको भनाई थियो । ‘हाम्रो बुझाइमा ५० विद्यार्थी बराबर १ शिक्षक हुनुपर्छ, तर मधेशमा औसतमा ११७ विद्यार्थीका लागि १ शिक्षक मात्र छन्,’ उनले भनिन्, ‘यो अवस्थाले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न कठिनाई भईरहेको छ ।’
मन्त्री तिवारीले संघ सरकारले अघि सारेको १०० बुँदे कार्यक्रम कार्यान्वयन गर्दा शिक्षा सुधारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् । शिक्षक अभाव समाधानका लागि संघ सरकारले दरबन्दी थप गर्नुपर्ने वा प्रदेश सरकारलाई नै दरबन्दी सिर्जना गर्ने अधिकार दिनुपर्ने उनको धारणा थियो।
‘प्रदेश सरकारसँग अधिकार भएमा स्थानीय आवश्यकताअनुसार छिटो निर्णय गर्न सकिन्छ,’ उनले भनिन्, ‘नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै शिक्षक अभाव समाधानका लागि ठोस पहल आवश्यक छ।’

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक संजय झाले ११७ वर्ष पुरानो इतिहास बोकेको विद्यालय विभिन्न उतारचढाव पार गर्दै पुनः शैक्षिक केन्द्रका रूपमा स्थापित भएको बताए । समुदाय र अभिभावकको सक्रिय सहयोगले पछिल्लो समय विद्यालयमा विद्यार्थी संख्या उल्लेखनीय रूपमा बढेको उनले जानकारी दिए।
‘केही वर्षअघि विद्यार्थी अभाव झेलिरहेको विद्यालय अहिले विद्यार्थीले भरिएको छ,’ झाले भने, ‘हामी यसलाई नमूना विद्यालयका रूपमा विकास गर्ने दिशामा अघि बढिरहेका छौँ।’
वार्षिकोत्सवका अवसरमा विद्यालयले ११ जना उत्कृष्ट छात्रालाई साइकल वितरण गरेको छ। साथै, कक्षा १२ विज्ञान संकायका ९ जना छात्रालाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ। जनकपुरधाम उपमहानगरपालिकाका ८ का वडाध्यक्ष दिनेश सिंहले वडाध्यक्ष स्तरीय बजेटबाट उक्त साईकलहरु वित्तरण गरेका गरेका हुन् ।
शिशु कक्षादेखि कक्षा १२ सम्मका उत्कृष्ट विद्यार्थीहरूलाई समेत पुरस्कार वितरण गरिएको कार्यक्रममा शिक्षा क्षेत्रमा देखिएका चुनौती, सुधारका सम्भावना र सामुदायिक सहकार्यको आवश्यकताबारे वक्ताहरूले आ–आफ्ना धारणा राखेका थिए।






