जनकपुरधाम । जनकपुरधामस्थित गुठी संस्थानको जग्गामा बनेका घरहरू भत्काउने संघीय सरकारले तयारी गरिरहेको बेला प्रभावित स्थानीयहरूले विरोध प्रदर्शन गरेका छन् ।
गुठी कुटी भूमिहीन घरजग्गा व्यवस्थापन समिति, जनकपुरधामको अगुवाइमा उनीहरूले विहीबार नगरका विभिन्न चौकमा प्लेकार्डसहित परिक्रमा गर्दै आफुहरुले बस्दै आएको जग्गाको लालपुर्जाको माग गरेका छन् । उनीहरूले गुठी संस्थान, जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्नुका साथै मधेश प्रदेश सरकारको प्रशासनिक भवन अगाडि केहि समय धर्ना समेत दिएका थिए । उनीहरूले पुनस्र्थापना बिना घर भत्काउन नमिल्ने चेतावनी समेत दिए ।

देशभर सुकुम्बासीमाथि डोजर चलाएर सरकारले ‘आतंक मच्चाएको’ आरोप लगाउँदै उनीहरुले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा समेत माग गरेका छन्।
प्रदर्शनमा सहभागि एक महिलाले भनिन्,‘ मैले बेला कुटीका महन्थ धनेश्वर बाबालाई ५० हजार रुपैयाँ तिरेर ७ धुर जग्गा लिएका थियौं। त्यसमा लाखौं रुपैयाँ खर्च गरेर घर बनायौं। अहिले घर भत्काउने चर्चा भएपछि परिवारमा तनाव छ, राति निद्रा लाग्दैन।’
जनकपुरधाममा लालपुर्जावाला जग्गा महँगो भएकाले आफूहरूले महन्थमार्फत जग्गा लिएको उनले बताईन् । प्रदर्शनमा सहभागि अर्की महिलाले भनिन्,‘ थोरै पैसा थियो, अरुलाई बाबासँग कुटिको जग्गा लिएको देख्दा गाँउमा भएका केहि जग्गा बेचेर जग्गा लियौ र त्यसमा घरमा बनायो । तर अहिले आएर भत्काउने हल्ला सुनेर विस्थापित हुने अवस्थामा पुगेका छौ ।’
बेला कुटी वरिपरि सयौं परिवार गुठीको जग्गामा घर बनाएर बसोबास गर्दै आएका छन्। उनीहरूले महन्थलाई ५० हजारदेखि दुई लाख रुपैयाँसम्म बुझाएर पाँच धुरदेखि २–४ कठ्ठासम्म जग्गा उपयोग गर्दै आएका छन् । बेला कुटी मात्र नभई जनकी मन्दिर, रत्नसागर, दशरथ मन्दिर, राम मन्दिर र लक्ष्मण मन्दिर आसपासका सयौं बिघा गुठी जग्गा अनियमित रूपमा बिक्री वितरण भई त्यहाँ घर, मल, होटल र अस्पतालसम्म निर्माण भएका छन् ।
जनकपुरधाममा करिब १० हजार बिघा गुठीको सार्वजनिक जग्गा अतिक्रमण र अनियमित बिक्रीमार्फत निजीकरण भएको पाइएको छ । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा गठित एक समितिको प्रतिवेदन अनुसार २५ गुठीका ९ हजार ८ सय ४६ बिघा १२ कठ्ठा जग्गा अतिक्रमणमा परेको उल्लेख छ । त्यसमा जनकपुर गुठीको मात्र १० बिघाभन्दा बढी जग्गा अतिक्रमणमा परेको छ ।
२०६२ सालमा भोजराज घिमिरेको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदनअनुसार जनकपुरनगरभित्र रहेका ४९ सार्वजनिक पोखरीमध्ये पाँच वटा हराइसकेका छन्। २०४८ सालको जनकपुर टाउन प्रोफाइल अनुसार ५८ धार्मिक पोखरीसहित ४० हेक्टर क्षेत्रफलमा ८२ पोखरी रहेका थिए, जसमा ३२.८ प्रतिशत पोखरी आफ्नो अस्तित्व गुमाइसकेका छन्। ती पोखरी पुरेर बस्ती, होटल, अस्पताल तथा कलेज निर्माण गरिएको छ । जनक सरोवर, अमृत कुण्ड, गोपाल सर, पयश्विनी सर र बलदेव सरजस्ता पोखरीहरू लोप भईसकेका छन् । ।
संघीय सरकारले सार्वजनिक गरेको १०० बुदे कार्यसूचीमा गुठी जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ। उक्त कार्यसूचीअनुसार सार्वजनिक जग्गाको डिजिटल अभिलेख तयार गर्ने, निगरानी प्रणाली सुदृढ गर्ने तथा अवैध कब्जा हटाउने अभियान सञ्चालन गरिने भनेपछि जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरु त्रसित भएका छन् ।






