जनकपुरधाम । कार्यालयमै सेवाग्राहीमाथि हातपात गरेको भिडियो सार्वजनिक भएपछि यातायात व्यवस्था कार्यालय बाराका निमित्त कार्यालय प्रमुख चिन्तन आचार्यलाई जिम्मेवारीबाट हटाइएको छ ।
मधेश प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले मंगलवार मन्त्रीस्तरीय निर्णयबाट आचार्यलाई मन्त्रालय तानेको हो । मन्त्रालयका सूचना अधिकारी सुनिल साहका अनुसार उनको स्थानमा बारा यातायात व्यवस्था कार्यालयका अधिकृत रामस्वार्थ महतोलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।

घटनाबारे अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ । बारा प्रहरीले आचार्यलाई कार्यालयमा बोलाएर घटनाका विषयमा सोधपुछ गरिरहेको छ । हालसम्म उनलाई औपचारिक रूपमा नियन्त्रणमा भने लिइएको छैन ।
प्रहरीका अनुसार घटना गत फागुनको तेस्रो सातातिर कार्यालय प्रमुखको कार्यकक्षमै भएको थियो ।
अनुसन्धानका क्रममा कार्यालयका एक चौकीदारको समेत घटनामा संलग्नता देखिएको बताइएको छ । घटना हुँदा ट्राफिक प्रहरीका सई भानुभक्त आचार्यसहित दुई जना प्रहरीसमेत कार्यालय परिसरमा उपस्थित रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सेवाग्राहीमाथि सरकारी कार्यालयभित्र भएको हातपातको भिडियो सार्वजनिक भएपछि घटनाको व्यापक आलोचना भएको थियो । त्यसपछि मन्त्रालयले प्रशासनिक कारबाहीस्वरूप आचार्यलाई जिम्मेवारीबाट हटाउँदै मन्त्रालयमा तानेको हो ।







