LIVE
जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन | मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत |

जनकपुरधाम । जानकी मन्दिरलाई युनेस्कोको विश्व सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गराउने तयारी पुनः सुरु भएको छ ।
जानकी मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा वास्तुकलाको महत्वलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढाउन लागिएको हो । त्यसका लागि जनकपुरधाम उपमहानगरपालिकाले प्रारम्भिक प्रतिवेदन तयार गरी विज्ञ, समाजका अगुवा तथा सरोकारवालासँग सुझाव संकलन गरिरहेको छ । यस अघि जनकपुरधामका निर्वतमान नगर प्रमुख लालकिशोर साहको पालामा पनि जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न प्रयास गरिएको थियो । संघीय सरकारले चासो नदिदाँ सफल हुन सकेन ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहका अनुसार प्रारम्भिक प्रतिवेदनमाथि आवश्यक सुझाव लिएर अन्तिम रूप दिने तयारी भइरहेको छ । अन्तिम प्रतिवेदन तयार भएपछि विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रियाका लागि युनेस्कोमा पेस गर्ने योजना रहेको उनले बताए ।

यसका लागि नगरप्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले जानकी मन्दिरको ऐतिहासिक पृष्ठभूमि, धार्मिक तथा सांस्कृतिक महत्व, वास्तुकला र यससँग जोडिएका सम्पदाको अवस्थालगायत विषयलाई समेटेर प्रतिवेदन तयार गर्ने काम अघि बढाएको छ । तर, विश्वसम्पदा सूचीमा सूचीकृत गराउने पहलसँगै मन्दिर र आसपासका सम्पदाको संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने चुनौतीसमेत देखिएको छ । नेपाल सरकारले गत भदौ १३ गते मन्त्रिपरिषद्बाट जानकी मन्दिरसहितको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरिसकेको अवस्थामा अब उक्त निर्णयलाई व्यवहारमै कार्यान्वयनमा ल्याउनुपर्ने सरोकारवालाको जोड छ ।

पुरातत्व क्षेत्रमा काम गरिसकेका रामबाबु दहालका अनुसार संरक्षित स्मारक क्षेत्रको चार किल्लाभित्र रहेका मठमन्दिर, पोखरी, सरोवर तथा अन्य ऐतिहासिक र पुरातात्विक महत्वका स्थलको विस्तृत सर्वेक्षण आवश्यक छ ।
‘संरक्षित क्षेत्र घोषणा गर्नु मात्र पर्याप्त हुँदैन,’ दहालले भने, ‘चार किल्लाभित्र रहेका ऐतिहासिक तथा धार्मिक सम्पदाको सर्वेक्षण गरी तिनको अवस्था, महत्व र संरक्षण आवश्यकताबारे अभिलेख तयार गर्नुपर्छ ।’

उनका अनुसार सम्पदाको पहिचान, अभिलेखीकरण, संरक्षण र व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउन नसकिए विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया पनि जटिल बन्न सक्छ । त्यसैले संरक्षित क्षेत्रको कार्यान्वयन र विश्वसम्पदा सूचीको तयारीलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ ।

सरोकारवालाले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन यसको ऐतिहासिकता र धार्मिक महत्व मात्रै प्रस्तुत गरेर नपुग्ने बताएका छन् । मन्दिरको निर्माण शैली, वास्तुकला, ऐतिहासिक प्रमाण, मिथिला सभ्यता र संस्कृतिसँगको सम्बन्ध, धार्मिक परम्परा तथा स्थानीय समुदायसँगको सम्बन्धलाई प्रमाण र तथ्यका आधारमा व्यवस्थित दस्तावेजीकरण गर्नुपर्ने उनीहरूको भनाइ छ । जानकी मन्दिर वरपरको भौतिक संरचना र विकास निर्माण पनि संरक्षणको अर्को महत्वपूर्ण विषय बनेको छ । ऐतिहासिक सम्पदाको मौलिक स्वरूपमा असर पर्ने गरी निर्माण तथा पुनर्निर्माणका काम हुन नदिई सम्पदा संरक्षण र पूर्वाधार विकासबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

संरक्षित स्मारक क्षेत्रभित्र रहेका पोखरी, सरोवर, मठमन्दिर तथा अन्य सांस्कृतिक सम्पदाको अवस्था पहिचान गरी प्राथमिकताका आधारमा संरक्षण योजना बनाउनुपर्ने सरोकारवालाको सुझाव छ । जानकी मन्दिरलाई विश्व सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गराउने तयारीले जनकपुरधामको धार्मिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने अवसर सिर्जना गरे पनि त्यसका लागि आवश्यक प्रमाण, अभिलेख, संरक्षणको अवस्था र व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउनु पर्ने देखिएको छ ।

सम्बन्धित खबर