LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा गरिएको बजार अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीले बजार बन्द गरेका छन् ।

अनुगमनका क्रममा व्यवसायीलाई त्रसित बनाउने, धम्क्याउने तथा आवश्यक प्रक्रिया पूरा नगरी जरिवाना गरिएको आरोप लगाउँदै व्यवसायीहरूले विरोधस्वरूप बजार बन्द गरेका हुन् ।

उपभोक्ताको हित र बजार नियमनका लागि अनुगमन आवश्यक भए पनि त्यसका नाममा व्यवसायीलाई आतंकित बनाउने र अपमानजनक व्यवहार गर्ने कार्य स्वीकार्य नहुने व्यवसायीहरूको भनाइ छ ।

अनुगमनका क्रममा अपनाइएको कार्यशैलीप्रति आपत्ति जनाउँदै जलेश्वर उद्योग वाणिज्य संघले व्यवसायीहरूसँग ऐक्यबद्धता जनाउँदै मधेश सरकारसमक्ष ज्ञापनपत्रसमेत बुझाएको छ । संघका अध्यक्ष शिवचन्द्र चौधरीको नेतृत्वमा गएको व्यवसायीहरूको टोलीले जिल्ला प्रशासन कार्यालय महोत्तरीमार्फत मधेश सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।

अध्यक्ष चौधरीले जलेश्वरका व्यवसायीहरूले नेपाल सरकारले तोकेको कानुन तथा मापदण्डको पालना गर्दै व्यवसाय सञ्चालन गर्दै आएको दाबी गरे । तर, अनुगमनका क्रममा मन्त्री महतो नेतृत्वको टोलीले व्यवसायीलाई त्रसित बनाउने तथा धम्की दिने शैली अपनाएको भन्दै त्यसको विरोधमा बजार बन्द गर्नुपरेको उनले बताए ।

संघले अनुगमनका क्रममा सम्बन्धित वस्तुको गुणस्तर परीक्षण नै नगरी गुणस्तरहीन भएको भन्दै सामान नष्ट गर्न लगाइएको, अनावश्यक रूपमा जरिवाना गरिएको तथा अनुगमनका क्रममा प्रश्न उठाउने वा बोल्ने व्यवसायीलाई थुन्ने र मुद्दा चलाउनेसम्मको धम्की दिइएको आरोप लगाएको छ ।

व्यवसायीहरूले बजार अनुगमनलाई प्रतिशोध वा आतंक सिर्जना गर्ने माध्यम नबनाई उपभोक्ता हित संरक्षण तथा व्यवसाय नियमनमा केन्द्रित गर्न माग गरेका छन् । कुनै वस्तुको गुणस्तरमाथि प्रश्न उठेमा सम्बन्धित प्राविधिक तथा प्रयोगशालामार्फत आवश्यक परीक्षण गरेपछि मात्रै कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने उनीहरूको माग छ ।

व्यवसायीमाथि भएको भनिएको ज्यादतीको विरोधमा आफूहरू एकताबद्ध रहेको जनाउँदै संघले माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलन तथा प्रतिकारका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ ।

सम्बन्धित खबर