जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेलगत्तै रोजगारी सिर्जना र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै दुईवटा निर्णय गरेका छन् ।
प्रदेशमा बढ्दो गरिबी तथा बेरोजगारी न्यूनीकरण गरी युवा, श्रमिक र महिलालाई सीपयुक्त बनाउँदै आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने मुख्यमन्त्री यादवले निर्णय गरेका हुन् । मुख्यमन्त्री यादवले महिला स्वरोजगार कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि स्वरोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम तथा सार्वजनिक रोजगार सेवा प्रवद्र्धन कार्यक्रम अघि बढाउन निर्णय गरेका हुन् ।

त्यस्तै, आधुनिक प्रविधिको प्रयोगमार्फत स्वरोजगार र उद्यमशीलता विकास गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इकमर्स तथा कम्प्युटरसम्बन्धी तालिम सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ ।
एकीकृत रोजगार कार्यक्रम प्रदेशका पाँच जिल्लामा नौ महिनासम्म सञ्चालन गरिने निर्णयमा उल्लेख छ । यस कार्यक्रममार्फत बेरोजगार युवा तथा श्रमिकलाई सीप विकास र रोजगारीका अवसरसँग जोड्ने सरकारको लक्ष्य छ । यसैगरी, वन तथा वातावरण संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणसम्बन्धी कार्यक्रमलाई पनि प्राथमिकताका साथ अघि बढाउने निर्णय मुख्यमन्त्री यादवले गरेका छन् ।
यसअघि प्रदेश प्रमुख डा.सुरेन्द्रलाभ कर्णले आइतबार बिहान ११ बजे मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । शपथपछि मुख्यमन्त्री यादवले मुजेलियास्थित सहिद गेटमा पुगेर मधेश आन्दोलनका सहिदहरूको सालिकमा माल्यार्पण गरेका थिए । त्यसपछि उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले आफ्नो पहिलो प्राथमिकता सर्वदलीय सरकार गठन गर्नु रहेको बताए । ‘मेरो पहिलो प्रयास सर्वदलीय सरकार बनाउनु हो । सरकारमा सबै दललाई समेट्ने प्रयास गर्छु,’ उनले भने । उनले छिट्टै विश्वासको मत लिने र केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसमेत रहेको जानकारी दिए ।
यादव दोस्रो पटक मुख्यमन्त्री
मधेश प्रदेशको झण्डै सात वर्षको इतिहासमा पटक जसपाका संसदीय दलका नेता दोस्रो पटक मुख्यमन्त्री बन्न सफल भएका हुन् ।
प्रदेश सभाको पहिलो कार्यकालमा तत्कालिन राष्ट्रिय जनता पार्टी(राजपा)बाट प्रदेश सभामुख भएका यादव प्रदेश सभाको दोस्रो कालमा सुरुवातमै जनता समाजवादी पार्टीका दलका नेता भए र त्यसपछि उनी २९ पुस २०७९ मा मुख्यमन्त्री बनेका थिए । २०८१ जेठ २३ प्रदेश सभाबाट विश्वासको मत गुमाउदाँ उनी राजिनामा दिएका थिए ।





