जनकपुरधाम । जनकपुरधाममा जारी जनकपुर साहित्य महोत्सवको दोस्रो दिन विभिन्न विषयमा गहन छलफल भएको छ ।
महोत्सवको दोस्रो दिन ‘नेपालको परराष्ट्र नीति र सीमाञ्चल’ शीर्षकको सत्रमा वक्ताहरूले नेपालको परराष्ट्र नीति, सीमाञ्चलको अवस्था र समसामयिक चुनौतीहरूबारे गहन छलफल गरेका छन् ।

सत्रमा ईन्द्र अधिकारी, तुलानारायण साह र सुधीर शर्माले आ–आफ्ना विचार प्रस्तुत गरे भने पत्रकार अनिल गिरीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । परराष्ट्रविद् ईन्द्र अधिकारीले नेपालको परराष्ट्र नीतिमा सन्तुलनको आवश्यकता औंल्याउँदै भनिन्, ‘नेपालले छिमेकी राष्ट्रहरू भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्छ ।’

उनले नेपालले असंलग्न परराष्ट्र नीतिलाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय सम्बन्धमा आफ्नो स्वतन्त्र पहिचान स्थापित गर्नुपर्नेमा जोड दिइन । ‘हामीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति निर्माण गर्नुपर्छ,’ उनले थपिन ।
त्यसैगरि, राजनीतिक विश्लेषक तुलानारायण साहले सीमावर्ती क्षेत्रका समस्याहरू, जस्तै अवैध व्यापार, मानव तस्करी र सीमांकन विवादबारे चर्चा गर्दै यी समस्याहरू समाधान गर्न नेपालले छिमेकी राष्ट्रहरूसँग सहकार्य गर्नुपर्नेमा जोड दिए । सीमाञ्चलको समृद्धिका लागि प्रभावकारी परराष्ट्र नीति आवश्यक रहेको उनको भनाई थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार सुधीर शर्माले नेपालको परराष्ट्र नीतिको ऐतिहासिक पृष्ठभूमि र वर्तमान परिप्रेक्ष्यबारे चर्चा गर्दै भने, ‘इतिहासमा नेपालले परराष्ट्र सम्बन्धमा धेरै उतार–चढावहरू रहेका छन । तर अहिलेको समय अनुसार नेपालले आफ्नो हित अनुसार परराष्ट्र नीतिलाई परिमार्जन गर्नपर्ने आवश्यकता रहेको छ ।’
नेपाल–भारत र नेपाल–चीन सम्बन्धका ऐतिहासिक घटनाहरूलाई स्मरण गर्दै वर्तमानमा नेपालले विगतका अनुभवहरूबाट सिकेर भविष्यका लागि रणनीति बनाउनुपर्नेमा उनले जोड दिए ।
‘नीतिमा युवाको चासो’ विषयक शीर्षकमा गहन विमर्श भएको छ । उ क्तमा मधेश प्रदेशका पुर्व राज्यमन्त्री तथा प्रदेश सभा सदस्य रहबर अंसारी, युवा नेता अनिल महासेठ, प्रतिनिधि सभा सदस्य निशा डाङ्गी, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह र युवा अभियन्ता वर्षा भण्डारीको सहभागिता थियो ।

त्यसैगरि, महोत्सवको दोस्रो दिन जनकपुरधामको अवसर र चुनौति विषयक शिर्षकमा जनकपुरधाम उपहानगरपालिका पुर्व मेयरहरु वृशेषचन्द्र लाल, बजरंग साह र वर्तमान मेयर मनोज कुमार साह वक्ताको रुपमा सहभागि रहेका थिए । उनीहरुले जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
त्यसैगरि, ‘क्रिकेट ः समस्या समाधान र सम्भावना’ शिर्षकमा पनि महोत्सवको दोस्रो दिन एक महत्वपुर्ण वहस भएको छ । उक्त सत्रमा नेपाल क्रिकेटको हालको स्थिति, चुनौतीहरू र भविष्यको सम्भावनाहरूलाई केन्द्रबिन्दुमा राखेर गहन छलफल गरिएको थियो ।
त्यसैगरि, डिजिटल युगमा पठन संस्कृति’विषयमा पनि महोत्सवको दोस्रो दिन गहन छलफल भएको छ । सो सत्रमा प्रदेशसभा सदस्य रामअशिष यादव, अर्थशास्त्री डा. सुरेन्द्र लाभ र शिक्षाविद् डा. मंचला झाले आ–आफ्ना दृष्टिकोण प्रस्तुत गरेका थिए ।
उक्त सत्रमा नेपाल क्रिकेट संघका पूर्व कार्यकारी अधिकृत भावना घिमिरे, केन्द्रिय कार्यसमिति सदस्य सुदिप शर्मा र विराटनगर किंग्सका लगानीकर्ता सुयश प्याकुरेलले आफ्ना विचार व्यक्त गरे । सत्रलाई हाम्रो खेलकुदका वरिष्ठ संवाददाता सरिता श्रेष्ठले सहज गरिन् ।






