LIVE
अयोध्याबाट मंगलबार जनकपुरधाम आउँदै सरयुग कमला एक्प्रेस, स्वागतको भव्य तयारी | सर्वदलिय सरकारदेखि रोजगारी सिर्जनासम्म मुख्यमन्त्री यादवको प्राथमिकता | उद्यमीलाई आर्थिक विकासको संवाहक बनाउन सरोकारवालाको जोड | नवनियुक्त मुख्यमन्त्री यादवले आइतबार बिहान १० बजे शपथ लिने, एक सातापछि विश्वासको मत लिने | मधेश सरकार गठनमा संवैधानिक अन्योल, सत्ताको दाउपेचमा दलहरू | नेकपाका केन्द्रीय सदस्य श्याम यादवसहितका नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश | चिनियाँ दूतावासद्वारा जनकपुरको कन्या मावि शैक्षिक सामग्री सहयोग | छठ मनाउन मधेश झरे कांग्रेस सभापति थापा, सर्लाही हुँदै वीरगञ्ज पुग्ने | मधेशमा छठको रौनक, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै | मधेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान |

जनकपुरधाम । भारतको अयोध्याबाट जनकपुरधाम आउन लागेको सरयुग–कमला एक्सप्रेसको स्वागतका लागि तयारी पुरा भएको छ । मंगलबार बिहान करिब एक हजार एक सय भारतीय अतिथिसहित जनकपुरधाम आइपुग्ने रेलको स्वागत गर्न जनकपुरधाम रेल्वे स्टेसनमा पण्डाल निर्माणदेखि सांस्कृतिक कार्यक्रम र धार्मिक स्थलको भ्रमणसम्मको व्यवस्था मिलाइएको छ ।

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको उक्त रेल मंगलबार बिहान ९ बजेर २५ मिनेटमा जनकपुरधाम पुग्ने कार्यक्रम छ । रेलमा सर्वसाधारण यात्रु नभई भारतीय पक्षबाट आमन्त्रण गरिएका प्रतिनिधि मात्रै सहभागी हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीले जानकारी दिए ।

अतिथिको स्वागतका लागि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव स्वयं जनकपुरधाम रेल्वे स्टेसन पुग्ने कार्यक्रम तय भएको छ । अतिथिको विश्रामका लागि स्टेसन परिसरमा पण्डाल निर्माण गरिएको छ भने सांस्कृतिक कार्यक्रममार्फत स्वागत गरिनेछ । उनीहरूलाई जनकपुरधामका प्रमुख धार्मिक स्थलको दर्शन गराउन एक दर्जन बसको व्यवस्था गरिएको महाप्रबन्धक पराजुलीले बताए ।

अतिथिलाई जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायतका धार्मिक स्थलको भ्रमण गराउने तयारी छ । अतिथिको आवागमन सहज बनाउन नेपाल रेल्वे कम्पनीले जिल्ला प्रशासन कार्यालयमार्फत जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषालाई आवश्यक समन्वय र सहजीकरणका लागि अनुरोध गरेको छ । विशेषगरी जनकपुरधाम रेल्वे स्टेसनदेखि जनक चोकसम्मको क्षेत्रमा एम्बुलेन्सबाहेक अन्य सरकारी सवारीसाधनको आवागमन कम गराउन आग्रह गरिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट भिडियो कन्फरेन्समार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त रूपमा रेलको उद्घाटन गरिएको थियो । त्यसपछि भारतको अयोध्यामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले हरियो झन्डा देखाएर रेललाई जनकपुरधामका लागि बिदाइ गरेका थिए ।

सातामा एक दिन व्यावसायिक सञ्चालनको तयारी

स्वागत कार्यक्रमसँगै जनकपुरधाम–अयोध्या रेलसेवाको व्यावसायिक सञ्चालनको तयारी पनि अघि बढाइएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक पराजुलीका अनुसार शनिबारदेखि सातामा एक दिन नियमित रूपमा रेल सञ्चालन गर्ने योजना छ । रेल नम्बर १५५९५ र १५५९६ अन्तर्गतको सरयुग–कमला एक्सप्रेस तत्काल जनकपुरधाम–अयोध्या रुटमा मात्रै सञ्चालन हुनेछ ।

जनकपुरधामदेखि अयोध्यासम्मको यात्रा गर्दा लाग्ने भाडा र अन्य व्यवस्थापनसम्बन्धी विवरण मंगलबारको कार्यक्रमपछि सार्वजनिक गरिने उनले बताए । ६०४ किलोमिटर दूरी पार गर्ने उक्त रेल भारतको बिहार र उत्तर प्रदेशका विभिन्न महत्त्वपूर्ण सहर हुँदै अयोध्या पुग्नेछ । जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती र मनकापुर हुँदै अयोध्याधामसम्म रेल सञ्चालन हुनेछ ।

१७ डिब्बाको रेलमा करिब एक हजार पाँच सय यात्रु बोक्ने क्षमता छ । जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल सञ्चालन गर्ने तयारी गरिएको छ । अयोध्यादेखि जनकपुरधामसम्मको यात्रा पूरा गर्न करिब १९ घण्टा लाग्ने अनुमान छ ।

धार्मिक पर्यटन र व्यापारमा नयाँ सम्भावना

सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्याबीच रेल सम्पर्क स्थापित हुनुलाई धार्मिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । अयोध्यामा राममन्दिर निर्माणपछि बढेको धार्मिक पर्यटकको चापलाई जनकपुरधामसम्म आकर्षित गर्न सके मधेश प्रदेशको पर्यटन विकासमा नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ ।

जनकपुरधामस्थित सुन्दर सदनका महन्थ नवलकिशोर शरण जनकपुरधामदेखि अयोध्यासम्म सोझो रेल सम्पर्क स्थापित हुनु ऐतिहासिक उपलब्धि भएको बताउँछन् । ‘हाम्रो लागि अयोध्या सीता माताको घर हो । सीताको माइतीबाट ससुरालीसम्म सोझै रेलसेवा जोडिनु निकै उत्साहजनक विषय हो,’ उनी भन्छन्, ‘नेपालमा सबैभन्दा बढी आउने पर्यटक पनि भारतकै हुन् । विवाहपञ्चमीमा भारतबाट जनकपुर आउने पर्यटकको बाक्लो घुइँचो लाग्छ । यो रेलसेवाले उनीहरूलाई ठूलो सहजता प्रदान गर्नेछ । यसले नेपाल–भारत मित्रतालाई अझ प्रगाढ बनाउनेछ ।’

रेलसेवाले धार्मिक पर्यटनसँगै स्थानीय व्यापार तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव फुलगेन पण्डित रेलसेवालाई मधेशको पर्यटन र आर्थिक विकाससँग जोडेर उपयोग गर्नुपर्ने बताउँछन् । ‘धार्मिक र पर्यटकीय हिसाबले यो रेलसेवा सञ्चालन हुनु निकै फाइदाजनक छ ।

अयोध्या आउने पर्यटकले सीताको माइत घुम्न जाऔँ भन्ने सोच बनाए भने जनकपुर आउने सजिलो माध्यम यही रेलसेवा बन्नेछ,’ उनी भन्छन्, ‘जनकपुरबाट पर्यटन प्रवद्र्धनमा जोड दिन सकिए भारतीय पर्यटकले लुम्बिनी, पोखरालगायत महत्त्वपूर्ण पर्यटकीय स्थलको पनि भ्रमण गर्न सक्छन् ।
यसबाट होटल तथा पर्यटन क्षेत्रमा मात्र नभई समग्र व्यापार–व्यवसायमा सकारात्मक प्रभाव पर्नेछ ।’
उनका अनुसार रेलसेवाबाट प्राप्त हुने सम्भावित लाभलाई वास्तविक आर्थिक अवसरमा बदल्न जनकपुरधाममा पर्यटकीय पूर्वाधार, आतिथ्य सेवा र प्रचारप्रसारमा विशेष ध्यान दिन आवश्यक छ ।

सम्बन्धित खबर