LIVE
मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ |

जनकपुरधाम । जनकपुरधामका निर्माणाधिन राम–जानकी अन्तर्राष्ट्रिय रंगशालाको लिजमा लिएको जग्गाको गुठी संस्थानले अनपेक्षित भाडा बढाएपछि स्थानीय जनप्रतिनिधीहरुले मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहसँग गुनासो गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको पहलमा रजौलस्थित गुठीको १७ बिघा जग्गा लिजमा लिएर रंगशाला निर्माण गर्ने तयारी भइरहेको बेला गुठी संस्थानले सो जग्गाको वार्षिक भाडा अनेपिक्षत बढाएर वार्षिक ५१ लाख तोक्दै परिपत्र गरेपछि स्थानीय नेतृत्व आक्रोशित भएका हुन् ।
सो निर्णयको विरोधमा प्रदेश सांसद तथा पुर्वमन्त्री राम सरोज यादव, जनकपुरधाम उपमहानगरका मेयर मनोज कुमार साहसहित एक टोलीले मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई भेटेर गुनासो राखेका छन् । टोलीले रंगशालाको महत्त्व र जनकपुरधामको विकासमा त्यसको योगदानबारे जानकारी दिँदै गुठी संस्थानको निर्णय तत्काल संशोधन गर्न माग गरेको छ ।

गुठी संस्थानले यसअघि सोही क्षेत्रको नौ बिघा जग्गा राष्ट्रिय खेलकुद परिषद्लाई मात्र नौ लाख रुपैयाँ वार्षिक भाडामा दिएको थियो । त्यसको तुलना गर्दा अहिले जनकपुरधाम उपमहानगरपालिकालाई प्रस्ताव गरिएको ५१ लाखको भाडा अनौठो र विभेदकारी देखिएको भन्दै जनप्रतिनिधिहरू आक्रोशित छन् ।

प्रदेश सांसद यादवले भने, ‘राष्ट्रको नाममा काम गर्ने दुईवटा निकायलाई एउटै जग्गाको फरक फरक मुल्यमा सम्झौता गर्नु अन्यायपूर्ण मात्र नभई विकासमा अवरोध पुर्याउने कार्य हो । यसमा प्रदेश सरकारको चासो अनिवार्य छ ।’

जनकपुरधाम जस्तो धार्मिक, सांस्कृतिक र पर्यटकीय शहरमा अन्तराष्ट्रि स्तरिय रंगशाला निर्माण गर्ने दीर्घकालीन योजना रहेको उपमहानगरका मेयर साहले बताए । उनले भने, ‘रंगशाला निर्माणले जनकपुरधाममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सम्भव हुनेछ । पर्यटन प्रवद्र्धन र युवा सहभागिता बढ्नेछ । तर, यस्तो अव्यावहारिक भाडा तोक्नाले यस योजनालाई नै धरापमा पारिएको छ ।’

भेटका क्रममा टोलीले जनकपुरधामको ऐतिहासिक रङभूमि मैदानको सौन्दर्यकरणका लागि समेत बजेट विनियोजन गर्न अनुरोध समेत गरेका थिए । मुख्यमन्त्री सिंहले जनप्रतिनिधिहरूको मागलाई गम्भीर रूपमा लिने आश्वासन दिँदै आवश्यक छलफलपछि प्रदेश सरकारको तर्फबाट पहल गरिने जनाएका छन् । साथै उनले विकासका काममा कुनै अवरोध नआओस् भन्नेतर्फ सरकार प्रतिबद्ध रहेको बताए ।

सम्बन्धित खबर