जनकपुरधाम । मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाहरूका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले मृतकका परिवारलाई राहतस्वरूप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री श्याम पटेलले जानकारी दिए । मन्त्रिपरिषदको बैठकले उक्त दुर्घटनामा घाइते भएकाहरूको उपचार प्रादेशिक अस्पतालमा निःशुल्क गर्ने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ ।

साथै बैठकले मधेश प्रदेशसभाको बैठक यही २८ कात्तिकदेखि सञ्चालन गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको मन्त्री पटेलले बताए ।





