जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले खडेरीको असर कम गर्न किसानलाई आवश्यक राहतका लागि थप बजेट अपरिहार्य भएको बताएका छन्।
मन्त्री क्षेत्रीले सोमबार जनकपुरधाममा आयोजित गत आर्थिक वर्षको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै, मौसमको अनियमितताका कारण यो वर्ष धेरै जिल्लामा धान रोपाइँ प्रभावित भएको र किसानहरू सिँचाइको गम्भीर समस्यामा परेको उल्लेख गरे।
उनका अनुसार मन्त्रालयले हालसम्म नियमित बजेटबाटै किसानलाई सयालो ट्युबवेल वितरण गर्ने तयारी गरिसकेको छ, जसका लागि आवश्यक प्राविधिक प्रक्रिया अन्तिम चरणमा पुगेको छ। “कृषि उत्पादनमा गिरावट नआओस् भनेर हामी समयमै सिँचाइ सुविधाको व्यवस्था गर्दैछौं,” मन्त्री क्षेत्रीले भने।
कार्यक्रममा मन्त्री क्षेत्रीले जनताको काम छिटो छरितो रुपमा सम्पन्न गर्न मन्त्रालयका कर्मचारीलाई आवश्यक निर्देशनसमेत दिए। उनले किसानलाई राहत र सेवा पुर्याउने क्रममा अनावश्यक ढिलासुस्ती भएमा जिम्मेवारी तोकिने चेतावनीसमेत दिए।
गत आर्थिक वर्षमा मन्त्रालयको वित्तीय प्रगति ६३.८७ प्रतिशतरहेको उनले जानकारी गराउँदै, भौतिक प्रगति पनि सन्तोषजनक रहेकाले यस वर्ष लक्ष्यभन्दा माथि पुग्ने विश्वास व्यक्त गरे।
यसअघि पनि मन्त्री क्षेत्रीले प्रदेशभरका सिँचाइ संरचना सुधार, सहकारीको सुदृढीकरण, र भूमी व्यवस्थापनमा सुधारका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्ने घोषणा गरेका थिए।







