जनकपुरधाम । धनुषा क्षेत्र नम्बर १ का नेकपा उम्मेदवार मातृका यादवले आफू मतगणनामा विजयी भए पनि निर्वाचन आयोगले हालसम्म विजयी प्रमाणपत्र नदिएको भन्दै आपत्ति जनाएका छन् ।
धनुषामा पत्रकारहरूसँग कुरा गर्दै उनले निर्वाचन आयोग कसैको दबाबमा परेर प्रमाणपत्र वितरण नगरेको हुनसक्ने आशंका व्यक्त गरे। उनका अनुसार आयोगजस्तो संवैधानिक तथा स्वायत्त निकायले कुनै राजनीतिक दबाबमा निर्णय गर्नु उपयुक्त हुँदैन।

वीतिय संस्थाको कालो सुचिमा रहेको कारण उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह (कमल)को उम्मेदवारी खारेज भइसकेको सो विषयलाई लिएर नयाँ कुराहरु ल्याएर निर्वाचित उम्मेदवारको प्रमाणपत्र नदिनु दुःखद रहेको उनले बताए । उम्मेदवारी खारेज भए पनि रास्वपाले धेरै मत प्राप्त गरेको उल्लेख गर्दै उनले कानुनी हिसाबले आफू नै विजयी भएको दाबी गरे।
उनले बन्दसूचीका अन्य २१ जनाको उम्मेदवारी पनि खारेज गरिएको स्मरण गराउँदै अदालतबाट कुनै स्थगन आदेश नआएको अवस्थामा परिणाम घोषणा रोक्नु उचित नभएको बताए ।
‘आयोगले आफ्नो निर्णयमा अडान लिनुपर्ने हो। कसैको दबाबमा परेर निर्णय गर्नु उचित होइन,’ उनले भने, ‘विधि, सुशासन र कानुनी प्रक्रियाको कुरा गर्नेहरूले अहिले कुशासनको व्यवहार देखाउन हुँदैन।’
मतगणनाको सम्पूर्ण प्रक्रिया रेकर्डमा राखेर पनि परिणाम घोषणा नगर्नु आयोगको गलत व्यवहार भएको उनले टिप्पणी गरे। यस विषयमा पार्टी नेतृत्वलाई जानकारी गराइसकेको बताउँदै आवश्यक परे आफू स्वयं निर्वाचन आयोगमा पुगेर कुरा गर्ने उनले बताए । यादवले रास्वपाबाट दबाब आएको हुनसक्ने आशंका व्यक्त गर्दै आयोगजस्तो संवैधानिक निकायले यस्तो प्रभावमा पर्न नहुने धारणा राखे ।






