राजा हुसैन
महोत्तरी । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–२ मा परम्परागत महावीर झण्डा मेला भव्य रूपमा सुरु भएको छ। एक हप्तासम्म सञ्चालन हुने मेलालाई यस वर्ष अझ आकर्षक बनाउन विभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको व्यवस्था गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ।
मेलामा विशेष रूपमा महिला कुस्ती प्रतियोगिता, विभिन्न प्रकारका झुला, सांस्कृतिक कार्यक्रम तथा धार्मिक गतिविधिहरू समावेश गरिएका छन्। १३० फिट अग्लो महावीर झण्डा स्थापना गरिएकाले पनि यस वर्षको मेला स्थानीय र बाहिरी दर्शकका लागि विशेष आकर्षण बनेको छ।



मेला व्यवस्थापन समितिका अध्यक्ष सुशिल अधिकारी र कोषाध्यक्ष धर्मवीर साहले मेलालाई व्यवस्थित र आकर्षक बनाउन व्यापक तयारी गरिएको बताए। धार्मिक आकर्षणका रूपमा यहाँ वैष्णेदेवी गुफा निर्माण गरिएको छ, जहाँ हनुमान भगवानको करिब ३० फिट अग्लो मूर्ति स्थापना गरिएको छ।
सोनमा गाउँपालिका–२ का वडाध्यक्ष रामजी यादवले मेला सुरु भएपछि स्थानीय बासिन्दा निकै उत्साहित भएको बताए। उनले मेलामा सहभागी भई यसको शोभा बढाउन सबैलाई आग्रह गरेका छन्।
धार्मिक आस्था, सांस्कृतिक मनोरञ्जन र सामुदायिक एकताको प्रतीकका रूपमा रहेको महावीर झण्डा मेला यस क्षेत्रको महत्वपूर्ण सांस्कृतिक उत्सव मानिन्छ।






