LIVE
सोनमा गाउँपालिकाको सरकारी पोखरी संरक्षणमा चरम लापरवाही, स्थानीय आक्रोशित | मधेशमा कानुन निर्माण पक्रिया कमजोर, एक वर्षमै ऐनको पुनर्लेखन | ई–रिक्सा चालकको लाइसेन्स प्रक्रियामा सवलिकरण ल्याउन माग | मधेशका जिल्लाहरुमा चैती पर्व मनाईदै | मुख्यमन्त्री यादवद्वारा सय दिनको उपलब्धी सार्वजनिक | मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र |

जनकपुरधाम . मधेश प्रदेशमा कानुन निर्माण प्रक्रिया कमजोर देखिएको छ । पर्याप्त बहस, छलफल र सरोकारवाला निकायसँगको प्रभावकारी संवाद बिना विधेयक पारित गर्दा यसको असर व्यवहारमा देखिन थालेको छ ।
सुरुमा केही सीमित दफामा मात्रै समस्या देखिएको ठानिए पनि विस्तृत अध्ययनपछि ऐनका संरचनागत कमजोरी र अपूर्णता उजागर भएका छन्। अन्तर प्रदेश सरुवा, स्वास्थ्य सेवाका कर्मचारीको बढुवा लगायतका विषयमा समस्या समाधान गर्न तयार गरिएको प्रारम्भिक मस्यौदासमेत अपर्याप्त देखिएको छ ।

कुनै पनि विद्येयकमाथि प्रर्याप्त बहस छलफल तथा सरोकारवाला निकायसँग सार्थक छलफल नहुदाँ मधेश प्रदेशमा कानुन निर्माण प्रक्रिया कमजोर सावित भएको हो । कानुन निर्माण पक्रिया कमजोर हुदाँ सरकारले एक वर्षअघि मात्रै प्रदेश सभाबाट पारित गरेको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ पुनर्लेखन गर्न वाध्य भएका छन् ।
ऐन कार्यान्वयनमा आएको छोटो अवधिमै गम्भीर त्रुटिहरू देखिएपछि सरकार संशोधन नभई सीधै पुनर्लेखनको बाटोमा अघि बढेको हो । प्रदेश सरकारले प्रारम्भमा केही सीमित दफामा मात्र त्रुटि रहेको निष्कर्ष निकाल्दै संशोधन प्रक्रिया अघि बढाएको थियो । तर, विस्तृत अध्ययनका क्रममा ऐनका विभिन्न प्रावधानहरूमा संरचनागत कमजोरी र अपूर्णता भेटिएपछि पुनर्लेखनको आवश्यकता औंल्याइएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अन्तर प्रदेश सरुवा, स्वास्थ्य सेवातर्फका कर्मचारीको बढुवा लगायतका विषयमा देखिएका समस्या समाधानका लागि प्रारम्भिक ड्राफ्ट तयार गरी मुख्यन्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो । तर, त्यसपछि गरिएको कानुनी अध्ययनले ऐनका धेरै आधारभूत पक्ष नै कमजोर रहेको देखाएको छ ।

प्रदेशका मुख्यन्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहका अनुसार अध्ययनका क्रममा ऐनमा अपेक्षित धेरै विषय समेटिन नसकेको पाइएको छ । उनले भने, ‘सुरुमा केही दफामा मात्र त्रुटि देखिएको थियो । तर, विस्तृत अध्ययनपछि ऐनमा व्यापक कमजोरी देखियो । केही महत्त्वपूर्ण विषय नै छुटेका छन् । त्यसैले पटक पटक संशोधन गर्नु भन्दा पुनर्लेखन गर्नु उपयुक्त हुने निष्कर्षमा पुगेका छौं ।’

विशेषगरी सामाजिक परिचालिका सम्बन्धी व्यवस्था ऐनमा स्पष्ट रूपमा समावेश नभएको, कर्मचारी व्यवस्थापनमा अस्पष्टता रहेको तथा अन्तर प्रदेश सरुवा बढुवामा विवाद सिर्जना हुने खालका प्रावधानहरू रहेको बताइएको छ ।

ऐन कार्यान्वयनमा आएपछि नै विभिन्न समस्या सतहमा देखिन थालेका थिए । अन्तर प्रदेश सरुवा र बढुवाको विषयलाई लिएर कर्मचारीहरू एक वर्षअघि आन्दोलनमा उत्रिएका थिए ।

तत्कालीन सरकारले समस्या समाधान गर्ने आश्वासन दिएर आन्दोलन थामथुम पारिएको थियो । तर, समस्या दीर्घकालीन रूपमा समाधान हुन नसकेको देखिएको छ ।

स्थानीय तहमा कर्मचारी व्यवस्थापन, पदपूर्ति, सेवा सर्त तथा पदोन्नति प्रक्रियामा अन्योल बढेपछि प्रशासनिक कामकाजसमेत प्रभावित भएको बताइन्छ ।

मुख्यमन्त्री कार्यालयका प्रवक्ता रोहित कोइरालाका अनुसार ऐन पुनर्लेखनको ड्राफ्ट तयार भइसकेको छ । अब उक्त प्रस्ताव मन्त्रिपरिषद छलफलपछि प्रदेश सभामा पेश गरिने तयारी भइरहेको छ ।

उनले भने, ‘ऐनलाई व्यवहारिक र कार्यान्वयनयोग्य बनाउन पुनर्लेखन आवश्यक देखिएको हो । अब यसलाई व्यवस्थित रूपमा अघि बढाइनेछ ।’

जनकपुरधाम वार एशोसिएएसनका सचिव अधिवक्ता अजिज आलमले पर्याप्त अध्ययन, अनुसन्धान र बहस बिना ऐन निर्माण गरिनु नै अहिलेको अवस्थाको मुख्य कारण भएको बताए । कानुन निर्माण प्रक्रिया बहुपक्षीय छलफल र गहिरो विश्लेषणमा आधारित हुनुपर्नेमा प्रदेशमा खासै त्यसलाई महत्व दिईएको उनले आरोप लगाए ।
‘पहिलो चरणमा मस्यौदा तयार गर्दा नै विभिन्न पक्षबाट विश्लेषण हुनुपर्छ । त्यसपछि सरोकारवालासँग संवाद, सरकार र सदनमा गहिरो बहस भएपछि मात्र ऐन परिपक्व हुन्छ,’ उनले भने । उनले थपे, ‘अहिले देखिएको समस्या भाषागत नभई सारभूत कमजोरी हो । यसले प्रारम्भिक चरणमै पर्याप्त तयारी नपुगेको संकेत गर्छ ।’

एक वर्षमै ऐन पुनर्लेखन गर्नुपर्ने अवस्था आउनु सरकार र प्रदेश सभाको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको उनको भनाई थियो । कानुन निर्माणजस्तो संवेदनशील विषयमा हतारो, कमजोर तयारी र अपर्याप्त बहसले प्रशासनिक संरचनामा दीर्घकालीन असर पार्न सक्ने कानुनका जानकारहरुको भनाई छ ।

सम्बन्धित खबर