जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले अन्तिम समयमा विश्वासको मत नलिने निर्णय गरेपछि प्रदेशमा सत्ता गठबन्धन दलहरु बीच रहेको असंतुष्टी छाताछुल भएको छ ।
बाहिरबाट हेर्दा काँग्रेसका नेतृत्वको सरकारसँग अझै बहुमत देखिए पनि सत्ता गठबन्धनभित्र अविश्वास, गुटीय प्रतिस्पर्धा र नेतृत्वको लडाइँ उत्कर्षमा पुगेपछि मुख्यमन्त्री यादव शुक्रवार विश्वासको मत लिनबाट पछाडि हट्न बाध्य भएका हुन् ।शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची तय भइसकेको थियो। तर मतदानअघि नै सत्ता पक्षभित्र ‘फ्लोर क्रस’ हुनसक्ने आशंका बलियो बनेपछि मुख्यमन्त्री यादवले प्रक्रिया स्थगित गरे । अब ८ जेठमा विश्वासको मत लिने तयारी गरिएको बताइएको छ ।

२१ बैशाखमा सरकारमा सहयोगी दल जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री यादवलाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोही वाध्यता अनुसार मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने घोषणा गरेका थिए । तर सरकारका मुख्य सहयोगि तथा संसदका सबभन्दा ठुलो दल जसपा भित्र गुटउपगुट तथा साँसदमा असंतुष्टी देखिएपछि मुख्यमन्त्रीले विश्वासको मतलाई अगाडी नबढाउन सभामुख रामअशिष यादवलाई आग्रहा गरेका थिए ।
विश्वासको मत स्थगित हुनुको मुख्य कारण सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) भित्रको शक्ति संघर्ष देखिएको छ । हालै जसपा र तत्कालीन लोसपाबीच एकीकरण भएपछि प्रदेशमा नयाँ शक्ति सन्तुलन बनेको छ । तर एकीकरणसँगै नेतृत्वको प्रतिस्पर्धा झन् तीव्र भएको स्रोतहरू बताउँछन् ।
श्रोतका अनुसार तत्कालिन लोसपा गुटका पुर्व मुख्यमन्त्री जितेन्द्र सोनल र जसपा गुटका पुर्व मुख्यमन्त्री सरोज कुमार यादव सरकार परिवर्तनमा पक्षमा देखिएका छन् । काँग्रेस नेतृत्वको सरकार ढल्न दुवै जना सहमत छन्, श्रोतले भनियो, तर सोनले आफ्नो नेतृत्वमा सरकार बनाउने दाउ खोजि रहेका छन् भने यादवले आफ्नो नेतृत्वमा सरकार बनाउने दाउमा लागेका छन् ।’ उनीहरुले काँग्रेस नेतृत्वको सरकार ढालेर नेकपा एमालेसँग मिलेर सरकार बनाउने रणनीतिमा काम गरिरहेका छन्, जसपाकी एक साँसदले भनिन्,‘ दुवै जना आ–आफ्नो नेतृत्वमा सरकार बनाउने दाउँमा हुनुन्छ । तर पार्टी अध्यक्षको अहिले कुनै निर्देशन छैन । त्यसकारण हामी अहिले अलमलमा छौ ।’
जसपाका अर्का साँसदका अनुसार संसदीय दलका सरोज कुमार यादवले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सरकार परिवर्तनका लागि मार्ग प्रशस्त गर्न दवाव दिईरहेका छन् । तर अध्यक्ष यादवले भर्खर पार्टी एकिकरण भएकोले तत्काल सरकार परिवर्तन हुदाँ पार्टी भित्रै असंतुष्टी बढ्ने भनेर वर्तमान सरकारलाई नै निरन्तरता दिनुपर्नेमा जोड दिईरहेका छन् ।
मुख्यमन्त्री यादव र नेपाली कांग्रेसका नेता महेन्द्र यादवले बिहीबार मात्रै अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेर विश्वासको मतबारे छलफल गरेका थिए । भेटमा समर्थनको आश्वासन पाएपछि मुख्यमन्त्री ढुक्क रहेको कांग्रेस स्रोतको दाबी छ । तर त्यसपछि जसपाभित्रै केही सांसदहरूले अध्यक्ष यादवमाथि सरकार परिवर्तनका लागि तीव्र दबाब बढाए । स्रोतका अनुसार अध्यक्ष यादवले “जे गर्न मन लाग्छ, गर” भन्दै असन्तुष्ट नेताहरूसँगको फोन संवाद अन्त्य गरेपछि सत्ता समीकरण अस्थिर बन्न पुगेको थियो। त्यसको सुईको पाएपछि सम्भावित विद्रोहको जोखिम देखेर मुख्यमन्त्री यादवले आज विश्वासको मत नलिने निर्णयमा पुगेका हुन् ।
यता, जसपाका प्रवक्ता तथा प्रदेश सरकारका मन्त्री मनिष सुमनले भने आफ्नै पार्टीको आग्रहमा मुख्यमन्त्री यादवले विश्वासको मत स्थगित गरेको दाबी गरेका छन् । उनका अनुसार जसपा लोसपा एकीकरणपछि प्रदेशस्तरमा अझै समायोजन प्रक्रिया पूरा भएको छैन । संसदीय दलका नेता, प्रमुख सचेतक लगायतका पदमा टुंगो नलागेकाले समायोजन प्रक्रिया सकिएपछि मात्रै विश्वासको मत लिन आग्रह गरिएको हो ।
हुनत मुख्यमन्त्री यादवलाई जसपाबाट मात्र नभई आफ्नै पार्टीबाट पनि दावामा थिए । सरकारको सुस्त कामकारबाही, योजना खरिद–बिक्री र प्रशासनिक बेथितिको आरोप लगाउँदै नेपाली कांग्रेसभित्रै पनि मुख्यमन्त्रीविरुद्ध असन्तुष्टि बढिरहेको छ ।
कांग्रेसका सात जना सांसदले पार्टी सभापति गगन कुमार थापा लाई मुख्यमन्त्री परिवर्तन नभए सामूहिक राजीनामा दिने भनेर विहिवार मात्रै चेतावनी सहितको पत्र पठाएका थिए ।पुर्व मन्त्रीहरू रामसरोज यादव, विरेन्द्र सिंह, जिवछी देवि, नागेन्द्र साह, संजय महतो सहितका प्रदेश साँसदले नेतृत्व परिवर्तनको पक्षमा खुलेर उभिएका थिए । तर सभापति थापाले तत्काल राजीनामा नदिन र ६ जेठमा महोत्तरीको कार्यक्रममा आएपछि सो विषयमा छलफल गर्ने आश्वासन दिएपछि कांग्रेसभित्रको विद्रोह तत्कालका लागि रोकिएको काँग्रेसका एक साँसदले बताए ।
यसैबीच, मधेश प्रदेशमा अहिले समानान्तर रूपमा दुई वटा सत्ता समीकरणको प्रयास भईरहेको चर्चा चुलिएको छ । जसपाको एक पक्ष एमालेसँग मिलेर कांग्रेसबाहेकको सरकार आफ्नो नेतृत्वमा बनाउने प्रयासमा छन् भने अर्को तिर केन्द्रमा कांग्रेस, नेकपा र नेकपा एमालेले सात वटै प्रदेशमा सरकार बनाउने गरि छलफल थालेको छ । काँग्रेस, एमाले र नेकपा मिलेर बन्ने सरकारमा जसपा र जनमतलाई सहभागि नगराईने काँग्रेसका एक साँसदले बताए ।







