जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले विश्वासको मत लिनुअघि मन्त्रिपरिषद् पुनः गठन गर्ने तयारी गरेका छन् ।
भोलि शुक्रबार दिउँसो १ बजे मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम तय भएको छ। त्यसअघि आज बिहीबार नै उनले सत्ता गठबन्धनमा देखिएको असन्तुष्टिका बीच विपक्षी दल नेकपा एमालेलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले भोलि ८ जेठमा विश्वासको मत लिन लागेका हुन्। समर्थन फिर्ता लिए पनि जनमतका दुई मन्त्री महेश प्रसाद यादव र बसन्त कुशवाह सरकारमै रहेका थिए । तर मन्त्रिपरिषद् पुनः गठनको तयारी भएपछि उनीहरूले आज साँझ मन्त्री पदबाट राजीनामा दिएका छन् ।
मुख्यमन्त्री यादवले जसपा नेपाललाई सरकारबाट बाहिर निकालेर एमाले र नेकपासँग नयाँ गठबन्धन बनाउने तयारी गरेका हुन् । जसपाले एमालेसँग मिलेर नयाँ सरकार गठनको प्रयास थालेपछि उनले यस्तो कदम चालेको बताइएको छ ।
यसअघि मुख्यमन्त्री यादवले १ जेठमै विश्वासको मत लिने घोषणा गरेका थिए । तर जसपाका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेस नेतृत्वको सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार गठनको पहल थालेपछि विश्वासको मत लिने प्रक्रिया स्थगित गरिएको थियो ।
यसैबीच, जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को एकीकरणपछि आज बसेको संयुक्त संसदीय दलको बैठकले सरोजकुमार यादवलाई पुनः संसदीय दलको नेतामा चयन गरेको छ । यसअघि पनि उनी जसपाको संसदीय दलका नेता थिए। लोसपातर्फका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले पनि दलको नेतामा दाबी गरेका थिए। तर अन्ततः सरोजकुमार यादव सर्वसम्मत रूपमा संयुक्त दलको नेतामा चयन भएका हुन् ।
आज बसेको जसपाको संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय पनि गरेको छ । जसपाले विश्वासको मत दिने निर्णय गरे पनि विगतमा जसपाले देखाएको अविश्वास तथा केन्द्रमा कांग्रेस, एमाले र नेकपाबीच बनेको नयाँ गठबन्धनका कारण मुख्यमन्त्री यादवले प्रदेशमा नयाँ राजनीतिक समीकरण अघि बढाएका हुन् ।
नयाँ समीकरणअनुसार हाल सरकारमा रहेका जसपा नेपाल र जनमत पार्टीका मन्त्रीहरूलाई हटाउने तयारी भइरहेको छ । नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवले सांसद मोहम्मद समिरलाई आजै आज बिना विभागीय मन्त्रीको रूपमा शपथ लिनेछन् । नेकपा एमाले सरकारमा सहभागि भएपछि जसपाले सरकारबाट बाहिने उनले बताए । आफुहरुलाई ४ वटा मन्त्रालय दिने गठबन्धनमा सहमति भएको उनले दावि गरे । विश्वासको मत पछि थप मन्त्रालय बाडफाँड हुने उनले बताए ।
नेकपाका युवराज भट्टराईले भने, ‘अब कांग्रेस, एमाले र नेकपाको गठबन्धनको सरकार बन्नेछ। अस्थिरता अन्त्य हुने विश्वास लिएका छौं।’ मुख्यमन्त्रीले विश्वासको मत लिएपछि गठबन्धन दलबीच मन्त्रालय बाँडफाँटबारे थप छलफल हुने जानकारी पनि दिए । हाल सरकारमा जसपाका दुई र जनमतका दुई मन्त्री सहभागी रहेका छन् ।







