जनकपुरधाम । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुश्वाहालाई विशेष अदालतले ४ वर्ष १ महिना कैद सजाय सुनाएको छ । अदालतले उनीमाथि ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना तथा सोही रकम बराबरको बिगो जफत गर्ने आदेश समेत दिएको छ ।
मंगलवार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले उक्त आदेश गरेको हो ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित सिंहले विभिन्न उपभोक्ता समितिहरूबाट घुसस्वरूप रकम लिएको पुष्टि भएपछि अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत दोषी ठहर गरेको थियो। अदालतको फैसलाअनुसार भ्रष्टाचार कसुरका लागि ४ वर्ष कैद र बिगो बराबर ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना तोकिएको छ ।
यसबाहेक सार्वजनिक पदमा बहाल रहँदा भ्रष्टाचार गरेको ठहर भएपछि ऐनको दफा २४ अनुसार थप १ महिना कैद सजाय पनि सुनाइएको छ ।
अदालतले गैरकानुनी रूपमा आर्जन गरिएको रकम जफत गर्न आदेश दिएको छ । साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम सिंहबाट १ लाख ५४ हजार ५ रुपैयाँ क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला समेत गरेको छ ।
यस अघि ४ जेठमा विशेष अदालतले सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । सिंह जनता समाजवादी पार्टीबाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित भएका थिए ।







