जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा कुनै नेता विशेषलाई भगवान् र बा बनाउने प्रयास नगर्न आग्रह गरेका छन् । चितवनमा रास्वपाको महाधिवेशनको उद्घाटन कार्यक्रमलाई शुभकामना सन्देश दिँदै उनले यस्तो आग्रह गरेका हुन् ।
‘हामीले भगवान् र बा बनाएर गल्ती गर्याैँ । तपाईंहरूले यस्तो नगर्नुहोला । ढिलो गर्दा हामीले सजाय पायौँ । ढिलो गर्दा हाम्रो अवसर गुम्यो । हामीले आफ्नै नेतालाई प्रश्न गर्न ढिलाइ गर्याैँ, तर विधि मिचिँदा तपाईंहरूले प्रश्न गर्नुहोला, यस्तो साहस देखाउनुहोला’, उनले भने ।

साथै उनले कांग्रेस रास्वपाको प्रतिस्पर्धी भए पनि दुस्मन नभएको बताएका छन् । उनले प्रतिस्पर्धी भए पनि आफूले स्वस्थ राजनीति गरेर ठूलो पार्टी बन्ने पनि बताए ।
‘हामी अग्लो बन्ने अभिभयानमा छौँ । तर तपाईंहरूलाई खुट्टा काटेर होइन, आफैँभित्रका दुर्गन्ध हटाएर पहिलो हुन चाहन्छौँ’, उनले भने । तर कांग्रेसले सरकारको राम्रा काममा समर्थन गर्ने उनको भनाइ छ ।







