जनकपुरधाम । रौतहटको गढीमाई नगरपालिका–१ अन्तर्गत बागमती नदीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार समनपुर–हरैया घाटमा आइतबार दिउँसो नुहाउने क्रममा स्थानीय भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश यादव नदीमा डुबेका थिए । खोजीपछि उनको शव फेला परेको थियो । सोही क्रममा स्थानीय सुरेश यादवका ८ वर्षीय छोरा आदित्य यादव पनि नदीमा बेपत्ता भएका थिए ।

घटनाको जानकारी पछि इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी सहायक निरीक्षक (सई) मुना पासवानको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेर खोज तथा उद्धार अभियान सञ्चालन गरेको थियो ।
खोजी अभियानका क्रममा घटनास्थलबाट करिब ५० मिटर दक्षिणतर्फ बागमती नदीमै आदित्यको शव फेला परेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
दुवै बालकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिए ।







