जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकामा बजार ठेक्कासम्बन्धी लामो समयदेखिको रहेको विवाद थप उग्र भएको छ ।
निगौल गाई गौशालाकी प्रमुखमाथि हातपात गरेको आरोपमा आठ जना नगर प्रहरी पक्राउ परेपछि नगरपालिकाले शुक्रबारदेखि सम्पूर्ण सेवा प्रवाह स्थगित गरेको छ ।निगौल गाई गौशालाकी प्रमुख कान्ती कुमारी पाण्डेयले आफूमाथि नगर प्रहरीसहितको समूहले हातपात गरेको भन्दै दिएको उजुरीका आधारमा नेपाल प्रहरीले आठ जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको हो ।

यस घटनापछि गौशाला नगरपालिकाले विज्ञप्ति जारी गर्दै पक्राउ परेका नगर प्रहरीलाई अविलम्ब रिहा गर्न तथा कर्मचारीको सुरक्षाको सुनिश्चितता गर्न माग गरेको छ । नगरपालिकाले प्रहरी कार्यालय परिसरमै प्रवेश गरेर कुनै पूर्वसमन्वयबिना कर्मचारीलाई पक्राउ गरेको भन्दै असन्तुष्टि जनाएको छ ।
नगरपालिकाले स्थानीय सरकारको अधिकार क्षेत्रभित्र काम गरिरहेका नगर प्रहरीमाथिको कारबाहीलाई स्थानीय तहको अधिकारमाथिको हस्तक्षेपको रूपमा व्याख्या गरेको छ । कर्मचारीहरू असुरक्षित र त्रसित बनेको उल्लेख गर्दै माग पूरा नभएसम्म नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयबाट प्रवाह हुने सेवा स्थगित रहने जनाएको छ ।
यता, प्रहरी कारबाहीको आधार भने निगौल गाई गौशालाकी प्रमुख पाण्डेयको किटानी जाहेरी हो। उनले नगर प्रहरीसहितको टोलीले आफूमाथि दुव्र्यवहार र हातपात गरेको आरोप लगाएकी छन् ।
गौशाला नगरपालिका र निगौल गाई गौशालाबीच गौशाला बजारको ठेक्का व्यवस्थापनलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ । गाई गौशालाले आफ्नो जग्गामा सञ्चालन हुने बजारको ठेक्काबाट प्राप्त हुने सहमतिअनुसारको रकम नगरपालिकाले लामो समयदेखि नदिएको आरोप लगाउँदै आएको छ ।
आर्थिक वर्षको अन्तममा नगरपालिकाको सेवा नै बन्द हुँदा सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।







