जनकपुरधाम । मिटरब्याज तथा अनुचित लेनदेनविरुद्ध जनकपुरबाट काठमाडौंतर्फ पैदल मार्च गरिरहेका पीडित र सरकारबीच बाराको निजगढमा पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मंगलबार करिब पाँच घण्टा वार्ता चलेको थियो । निजगढ नगरपालिका–८ स्थित निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा भएको वार्तामा आन्दोलनरत पक्षले सरकारसमक्ष ६ बुँदे माग प्रस्तुत गरेको छ । पीडित पक्षका प्रतिनिधिका अनुसार मागहरूबारे प्रारम्भिक छलफल भए पनि कुनै ठोस सहमति हुन सकेन ।

दुवै पक्ष दोस्रो चरणको वार्ताका लागि आन्तरिक तयारीमा जुटेका छन् । पीडितहरूको समस्या प्रत्यक्ष रूपमा सुन्न गृहमन्त्री गुरुङ मंगलबार बिहानै निजगढ पुगेका थिए । छलफलका क्रममा उनले आन्दोलनरत पक्षलाई केही दिन निजगढमै बस्न आग्रह गरेका छन् । मागका विषयमा थप अध्ययन, आवश्यक समन्वय र गृहकार्यपछि पुनः वार्ता गर्ने सहमति भएको स्रोतले जनाएको छ ।
वार्ताकै क्रममा गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) तथा उनका राजनीतिक सल्लाहकार असिम शाहसँग टेलिफोनमार्फत परामर्श गरेका थिए । त्यसपछि थप गृहकार्यका लागि उनी सिमरातर्फ प्रस्थान गरेका छन् । दोस्रो चरणको वार्ता समय भने अहिले सम्म तोकिएको छैन । मंगलबार राति वा बुधबार विहानैबाट वार्ता हुन सक्ने बताईएको छ ।
छलफलमा सहभागी अधिकांश पीडितले अदालत र प्रहरी प्रशासनबाट अपेक्षित न्याय र सहयोग नपाएको गुनासो गृहमन्त्रीसमक्ष राखेका छन् । वर्षौँदेखि मिटरब्याजको समस्याका कारण आर्थिक, सामाजिक तथा मानसिक रूपमा ठुलो क्षति व्यहोर्नुपरेको उनीहरुको भनाई थियो ।
गृहमन्त्री गुरुङले पीडितका गुनासा सुन्दै आवश्यक विषयहरू टिपोट गरेका थिए। साथै, पीडितका जाहेरी व्यवस्थित रूपमा दर्ता गर्ने उद्देश्यले मंगलबारदेखि नै निजगढमा सबै पीडितको जाहेरी संकलन तथा दर्ता गर्ने काम सुरु गरिएको छ । २५ असार जनकपुरबाट काठमाडौंसम्म पैदल मार्चमा रहेका मिटरब्याजपीडितहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।







