जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेस प्रदेशले गुठी संस्थाबाट लिजमा लिएको जग्गामा तारवार लगाउन थालेपछि वकिलहरुले पत्रकारहरुमाथि आक्रमण गर्दै कुटपिट गरेका छन ।
मंगलबार बिहान जनकपुरधाम उपमहानगरपालिका ४ स्थित रहेको चार कट्ठा जग्गा गुठी संस्थानबाट २० वर्षको लागि लिजमा लिएकोमा उक्त जग्गामा तारवार लगाउन थालेपछि महासंघका प्रदेश अध्यक्ष श्याम प्रसाद बनजारालगायतका पत्रकार कुटिएका हुन् ।
बार एशोसिएसन नेपाल जनकपुरधामले महासंघ र गुठी संस्थानबीच सम्झौता भएपछि उक्त जग्गालाई पार्किग स्थलको रुपमा प्रयोग गर्न थालेपछि मंगलबार महासंघले पत्रकार सम्मेलन सकाएर उक्त जग्गामा तारवार लगाउन थालेपछि बारबाट आएका वकिलहरुले पत्रकारसँग हातपात गर्दै कुटपिट गरेका छन् ।

वकिलहरुको कुटपिटबाट महासंघका अध्यक्ष बनजारा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकार दिवाकर राय र अनिल कुमार निराला कुटिएका हुन् । महासचिव क्रान्तिले आफ्नो पैतालाको हड्डी भाँचेको जानकारी दिए ।
महासचिव क्रान्तिले साउन १९ गते महासंघको गुठी संस्थानसँग ४ कट्ठा जग्गाको सम्झौता भएको बताए ।

उनले जेठ ७ गते गोरखापत्रमा ३ वटा जग्गाको लागि सूचना प्रकाशित भएकोमा विभिन्न संघ संस्थाले प्रस्ताव पेस भएकोमा प्राविधिक, आर्थिक प्रस्ताव पेस गरे पश्चात महासंघले भरेको प्रस्ताव पास भएको बताए ।
महासचिव क्रान्तिले अरुले भरेको प्रस्ताव फेल भएपछि गुठी संस्थानले महासंघले जग्गा पायो भनेर साउन २ गते गोरखापत्रमा सूचना प्रकाशन गरेको बताए । गुठीले साउन ९ गते जग्गा परेको भनेर सम्झौता गर्न पत्र पठाएकोमा साउन १९ गते सम्झौता गरेको बताए ।






