जनकपुरधाम । जनकपुरधाममा अधिवक्ताहरूको समूहद्वारा पत्रकारमाथि भएको सांघातिक आक्रमणबारे राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयले औपचारिक अनुसन्धान सुरु गरेको छ। आयोगको टोलीले बुधबार नेपाल पत्रकार महासंघ मधेस प्रदेश कार्यालयमा पुगेर घटनाबारे विस्तृत जानकारी संकलन गरेको हो।
मानव अधिकार अधिकृत किरण घिमिरे र राहुल कुमार ठाकुर तथा सूचना प्रविधि शाखाका कर्मचारी ऋषिकुमार झा सहितको टोलीले महासंघका पदाधिकारी र घाइते पत्रकारहरूसँग भेटेर विवरण लिएको आयोगले जनाएको छ। साथै, टोलीले अन्य सम्बन्धित व्यक्तिहरूसँग पनि प्रत्यक्ष छलफल गरी प्रमाण संकलन गरेको छ।
नेपाल पत्रकार महासंघका अनुसार, वकिलहरूको आक्रमणबाट महासंघ मधेस प्रदेशका महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको, पत्रकार अनिल कुमार निरालाको आँखा सुनिएको र पत्रकार दिवाकर राईको टाउकोमा गम्भीर चोट लागेको छ। त्यस्तै, महासंघकी उपाध्यक्ष ज्योति झा र पत्रकार बिनीता यादवसँग लैङ्गिक संवेदनशीलताविपरीत हातपात र दुर्व्यवहार गरिएको आरोप पनि लगाइएको छ।
महासंघले घटनाको सत्यतथ्य छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन तथा संवैधानिक सर्वोच्चता र कानुनी शासनको मर्यादा कायम गर्न आयोगलाई आग्रह गरेको छ।
घटनाबारे जानकारी लिन आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कुमार कर्ण, मधेस प्रदेश अध्यक्ष श्याम प्रसाद बन्जारा, सचिव हदिस खुद्दार, धनुषा शाखा अध्यक्ष पुरण गुप्ता सहितका पत्रकारको उपस्थिति रहेको थियो।
आयोगका प्रतिनिधिहरूले उपलब्ध विवरण र थप अनुसन्धानका आधारमा शीघ्र प्रतिवेदन पेस गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैबीच, मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादव नेतृत्वको टोली पनि महासंघ मधेस प्रदेश कार्यालयमा पुगेर घटनाबारे जानकारी लिएको छ। यसअघि, सुरेश यादव, आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा र इन्सेक मधेस प्रदेश कार्यालयका प्रमुख राजु पासमानको टोलीले प्रादेशिक अस्पताल जनकपुरधाममा घाइते पत्रकारहरूलाई भेटी आवश्यक विवरण संकलन गरेको थियो।







