जनकपुरधाम । नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विभागको कमला सिँचाइ व्यवस्थापन कार्यालय, धनुषाले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह भएको भन्दै आपत्ति जनाएको छ।
गत भदौ ५ गते केहि सञ्चार माध्यमले समाजिक सञ्जल फेसबुक पेजमार्फत कार्यालय र कर्मचारीमाथि लक्षित गरी प्रसारित सामग्रीको गम्भीर ध्यानाकर्षण भएको कार्यालयले जनाएको छ । ती सामग्रीहरूमा तथ्यविहीन रूपमा कार्यालय प्रमुखसहित कर्मचारीलाई बदनाम गर्ने प्रयास भएको र यसले सार्वजनिक धारणा गलत दिशातर्फ मोड्ने काम गरेको कार्यालयको भनाइ छ ।

कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ – “गत आर्थिक वर्षमा कार्यालयले कुनै संस्थासँग सम्झौता नगरेको र सेवा शुल्कसमेत नबक्याएको स्पष्ट भइसकेको अवस्थामा यस किसिमको प्रचार÷प्रसार अत्यन्तै आपत्तिजनक र अस्वीकार्य छ।”
कार्यालयको प्रवेशद्वारमा राखिएको बोर्ड अगाडि उभिएर कार्यालय र कर्मचारीको कार्यसम्पादन विषयमा तथ्यहीन र भ्रामक प्रचारप्रसार गरिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यस्ता गतिविधिले कार्यालयको छवि मात्र होइन, सरकारी सेवा प्रवाहमा समेत अवरोध पुर्याउने भएकाले तत्काल रोक्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
कमला सिँचाइ व्यवस्थापन कार्यालयले धनुषा, सिरहा, महोत्तरी र सप्तरी जिल्लामा सिँचाइ सेवा पुर्याउँदै आएको छ। कार्यालयका प्रमुख वीरेन्द्र कुमार यादवले हस्ताक्षर गरेको विज्ञप्तीमा तोकिएको नियमअनुसार दर्ता र नवीकरण भएका संस्थासँग मात्र काम गर्ने व्यवस्था रहेको भए पनि केही व्यक्तिहरूले तथ्यहीन समाचारमार्फत जनतालाई भ्रममा पार्ने काम गरिरहेको उल्लेख छ ।
विज्ञप्तिमा तथ्यहीन समाचार प्रकाशन वा प्रसारण नगर्न सम्बन्धित पक्षलाई सचेत गराउँदै हुदै नभएको विषयमा अनावश्यक र सत्य, तथ्यहीन हल्ला फैलाउने विरुद्ध कानुन उपचारको लागि सम्बन्धित निकायमा जाने विज्ञप्तीमा चेतावनी दिईएको छ ।






