जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आफुले एक सय दिनमा ५१ वटा मुख्य काम अघि बढाएको दावि गरेका छन् ।
मंगलवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सिँचाइ, भौतिक पूर्वाधार, खेलकुद, वन, यातायात र अर्थलगायत विभिन्न क्षेत्रमा काम सुरु गरिएको वा छलफलको चरणमा पुगेको बताए ।
उनका अनुसार सबैभन्दा उल्लेखनीय उपलब्धिका रूपमा जनकपुरधामको प्रादेशिक अस्पतालमा बिरामीहरूले घरबाटै मोबाइलमार्फत ओपिडी टिकट काट्न सक्ने डिजिटल सेवा लागू गरिएको छ, जसले भीड र समय दुवै घटाउने अपेक्षा गरिएको छ ।

किसानका लागि मलमा घटाइएको अनुदान पुनः पूर्ववत् बनाउन प्रदेश सरकारले सङ्घीय सरकारसमक्ष प्रस्ताव पेस गरेको छ, जसलाई यसै वर्षदेखि लागू गर्ने तयारी छ।
धार्मिक तथा पर्यटन प्रवद्र्धनतर्फ जनकपुरधामको जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक प्रक्रिया अघि बढाइएको छ। साथै, राम–जानकी रङ्गशालाको निर्माण कार्यलाई तीव्रता दिइएको छ।
यातायात क्षेत्रमा इ–रिक्सा र ट्र्याक्टर चालकलाई प्रयोगात्मक परीक्षामार्फत लाइसेन्स दिने व्यवस्था सुरु गर्ने प्रक्रिया अघि बढाइएको छ। ‘एक निर्वाचन क्षेत्र, पाँच किलोमिटर सडक’ योजनाअन्तर्गत पहिलो चरण सम्पन्न भई दोस्रो चरणका लागि तयारी पूरा भएको छ ।
पानी अभावको समस्या समाधानका लागि विज्ञहरूसँग परामर्श गरी दीर्घकालीन उपाय खोज्ने काम पनि भइरहेको मुख्यमन्त्री यादवले बताए । उनले यी पहलहरूले जनजीवन सहज बनाउने र विकासको गति बढाउने विश्वास व्यक्त गरेका छन्।






